देउतीले मजदुरसँगै पत्रकार महासंघलाई राहत बाड्यो

स्काई न्यूज /चैत २७, सुर्खेत ।
सुर्खेतको देउती नागरिक यातायात प्रालिले आफ्ना यातायात मजदुरसँगै नेपाल पत्रकार महासंघ सुर्खेतलाई दैनिक उपभोग्य वस्तु सहयोग गरेको छ । प्रालिले विहीबार वीरेन्द्रनगरमा आफु आवद्ध २० जना यातायात मजदुरसँगै महासंघ सुर्खेतलाई करिब डेढ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको हो । यतिबेला विश्व समुदाय नै कोरोना भाईरस (कोभिड–१९) को महामारीको चपेटामा परिरहेका बेला आफ्नो सामाजिक उत्तरदायित्वलाई सम्झेर लकडाउनबाट उत्पन्न संकटका बेला थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको प्रालिका अध्यक्ष कमल खड्काले बताए । उनले प्रालिका यातायात मजदुरलाई प्रति व्यक्ति १५ सय नगदसँगै ५० किलो चामल, ५ किलो दाल, १ किलो नून र १ लिटर तेल वितरण गरिएको जनाए । उनका अनुसार नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई २५ केजी तौल भएका ३० बोरा चामल, डेढ क्वीन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नून सहयोग गरिएको छ । प्रालिले वीरेन्द्रनगर कै स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपांगता भएका अर्का एक अशक्त व्यक्तिलाई समेत राहत सामाग्री वितरण गरेको थियो ।

‘लकडाउनको समयमा यातायात मजदुरलाई आर्थिक समस्या बढी हुने भएकाले कोही भोकै बस्न नपरोस् भनेर प्रालिले थोरै राहत वितरण गरेको हो,’ उनले भने, ‘संकटको यस घडीमा थोरै सहयोग भएपनि यातायात मजदुरको मनोबल उच्च बनाउँदै अभिभावकत्वको आभास दिने प्रयास गरेका हौं ।’ उनले आउँदा दिनहरुमा यातायात मजदुर, कर्मचारी एवं प्रालि सञ्चालक वीचको समन्वधलाई थप जीवन्त बनाईने धारणा व्यक्त गरे । ‘सामाजिक उत्तरदायित्वलाई प्रालिले स्थापना कालदेखि नै विभिन्न समयमा निर्वाह गर्दे आईरहेको छ । महामारीका बेला प्रालिले उपलब्ध गराएको सहयोगबाट सुर्खेतमा क्रियाशील श्रमजीवि पत्रकारलाई केही राहत पुग्ने अपेक्षा राखेको छु,’ उनले भने, ‘अहोरात्र संसार व्यूझाउने कार्यमा संलग्न पत्रकारहरुसँग प्रालिको सुमधुर सम्बन्ध रहेकाले संकटको यस घडीमा सानो सहयोग गर्न पाउँदा हामी खुशी छौं ।’ उनले पत्रकार एवं प्रालि वीचको सम्बन्धलाई आगामी दिनमा समेत थप प्रभावकारी बनाउँदै लगिने जिकिर गरे । पत्रकारका तर्फबाट राहत बुझ्दै महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले देउती नागरिक यातायात प्रालि स्थापनाकलादेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकारहरुसँग जीवन्त सम्पर्क बनाउँदै आएको बताए । उनले कोरोनाबाट उत्पन्न संकटको यस घडीमा राज्यले पत्रकारलाई सहयोग गर्नुपर्नेमा प्रालिले नै सहगोग गरिदिएको प्रति धन्यवाद व्यक्त गरे ।

Translate »