क्वारेन्टाईनमा बसेकालाई कोभिड–१९ विरुद्धको अभियान्ता बनाईने

मन्त्री भण्डारीद्वारा क्वारेन्टाईनको अनुगमन

स्काई न्यूज/ चैत २२, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले १४ दिन क्वारेन्टाईनमा बसेकालाई कोभिड–१९, विरुद्धको अभियानका अभियान्ता बनाईने बताएको छ । प्रदेश नं ५ को बाँकेको जमुनाह सुक्खा बन्दरगाहमा अस्थायी पाल टाँगेर बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपिन र बसोबास अवस्था बुझ्न शुक्रबार स्थल मार्गबाट त्यहाँ पुगेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले क्वारेन्टाईनमा १४ दिन बसेर फर्केकालाई कोभिड–१९ विरुद्धको अभियानमा अभियान्ताका रुपमा लाग्न प्रोत्साहित गरिने बताएका हुन् । उनले १४ दिनको क्वारेन्टाइनपछि समान्य अवस्थामा रहेका सबैलाई घरमा पठाउने व्यवस्था मिलाइने समेत  जनाए ।

–फाइल फोटो

भारतबाट आएकालाई भारत फर्काएर त्यहीको क्वारेन्टाइनमा राख्ने सहमति भएपनि नेपालीले नमानेपछि बाँके प्रशासनले बिहीबार क्वारेन्टाइनसहितको अस्थायी टेन्ट निर्माण गरेर उनीहरुलाई व्यवस्थापन गरेको थियो । क्वारेन्टाइनमा १७९ जनालाई राखिएको छ । मन्त्री भण्डारीले बाँके प्रशासनले गरेको प्रारम्भिक व्यवस्थापन सन्तोषजनक रहेको बताए । यसैगरी बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख, कर्णालीसहित त्यहाँका सबै सुरक्षाका प्रमुख र नेपाल रेडक्रसलगायतको सहभागितामा बसेको बैठकले समग्र क्षेत्रको विषयमा आपसी समन्वय गरेर जाने निर्णय भएको  उनले जानकारी दिए । शुक्रबार नै नेपालगञ्जस्थित नेपाल प्रहरीको क्षेत्रीय तालिम केन्द्रसमेतको उनले निरीक्षण गरेका थिए ।

Translate »