सुर्खेतमा १९५ जना क्वारेन्टाइनमा

 २५८ वटा आइसोलेसन बेड तयार

स्काई न्यूज/ चैत १६, सुर्खेत ।
सुर्खेतमा आज भारतबाट फर्किएका थप ६९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि छिमेकी मुलुक भारतका विभिन्न नाकामा अलपत्र परेका १२६ जनासँगै आज उद्दार गरिएका ६९ जनापछि वीरेन्द्रनगर स्थित क्वारेन्टाईनमा बस्नेको संख्या १९५ पुगेको हो । त्यस्तै ७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाले निर्माण गरेको ४ सय बेडको क्वारेन्टाइनमा बसेकाहरुको चिकित्सकबाट नियमित स्वास्थ्य चेकजाँचसँगै निःशुल्क खानबस्नको व्यवस्था मिलाईएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए ।

उनले कर्णालीका दश वटै जिल्लामा २५८ वटा आइसोलेसन बेड समेत तयार भईसकेको जानकारी दिए । उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रुकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालीकोटमा ७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।

Translate »