प्रवासी नेपाली संघद्वारा ‘कोरोना आपतकालिन कोष’ खडा

कर्नाटक–केरला क्षेत्रमा लकडाउनबाट अलपत्र परेका नेपालीका लागि

टेकनारायण पौडेल/ चैत १५, बेङ्गलोर (भारत)
भारतको कर्नाटक–केरला आसपासका क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकका लागि प्रवासी नेपाली संघ कर्नाटक–केरला संयुक्त राज्य समितिले ‘कोरोना आपतकालिन कोष’ खडा गरेको छ । भारत सरकारले गत बुधबारदेखि लागु गरेको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लकडाउनमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल खान, बस्नका लागि केही राहत पुगोस् भन्ने उद्देश्यले उद्देश्यले कोष खडा गरिएको हो । ‘अहिले भारतमा दैनिक ज्यालादारी, साना–साना होटल तथा रेष्टुरा, फुटपात व्यापारसँगै भर्खरै नेपालबाट आएका नेपाली नागरिकलाई लकडाउनमा कष्टपूर्ण जीवन विताउनु परिरहेको छ,’ प्रवासी नेपाली संघ, कर्नाटक–केरला संयुक्त राज्य समिति सचिव तिलकराज कँडेलले भने, ‘विश्वव्यापीरुपमा आक्रान्त पारेको कोरोना भाईरसबाट उत्पन्न समस्याले भारतमा बस्ने नेपाली बढी प्रभावित भएकाले तत्कालका लागि केही सानो सहयोग पुगोस् भन्ने उद्देश्यले आपतकालिन कोष खडा गरेका हौं ।’

उनले भारतका विभिन्न स्थानबाट कोषमा निरन्तर आर्थिक सहयोग आउने क्रम जारी रहेको बताए । उनका अनुसार कोषमा हालसम्म ६० हजार रुपैयाँ बढी संकलन भईसकेको छ । ‘कर्नाटक–केरला क्षेत्रमा खानबस्न समस्या भएका प्रवासी नेपाली दाजुभाई, दिदीबहिनीलाई उक्त कोषबाट तत्काल राहत उपलब्ध गराउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘नजिकै रहेका प्रवासी नेपाली संघका प्रतिनिधि मार्फत खान, बस्न समस्यामा परेका नेपाली दाजुभाई दिदीबहिनीलाई राहत रकम छानविन गरेर उपलब्ध गराउने छौं ।’

उनले प्रवासी नेपाली संघ मार्फत वास्तविक पीडितको प्रमाणिकरण गरिसके पछि मात्र त्यहीं नजिकै खाद्यान्न तथा बासको व्यवस्था मिलाईने जनाए । उनका अनुसार हालसम्म कोरोना आपतकालिन कोषमा रामचन्द्र भण्डारी, तिलकराज कँडेल, पशुपति अधिकारी, भिमलाल शर्मा पौडेल, भीष्म साउद, जगदीश आचार्य, टेकनारायण पौडेल, दिपकराज आचार्य, भरत ओझा, देव साउद, मदन पौडेल, राजेन्द्र भट्टराई, लोकराज आचार्य, उमेश ढुङ्गाना एवं हेमराज जोशीबाट आर्थिक सहयोग प्राप्त भएको छ । कोषमा थप सहयोग गर्न चाहने नेपाली दाजुभाई दिदीबहिनीले Name : Tilak Raj , A/ C No= 20190080851 IFSC :- SBIN0011290 , Branch : Kaggadasapura Bangalore , Bank : SBI google pay गुगल पे गर्न चाहनुहुनेले  – 8553241641  मा गर्न सक्नु हुने सचिव कँडेलले जानकारी दिए ।

Translate »