सुर्खेतमा विहीबार थप २४ जना क्वारेन्टाइनमा

स्काई न्यूज /चैत १३, सुर्खेत ।
सुर्खेतमा भारतबाट फर्किएका विहीबार थप २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट आएका थप २१ पुरुषसहित ३ महिलालाई स्वास्थ्य चेकजाँच पछि क्वारेन्टाईनमा राखिएको हो । कर्णालीका विभिन्न स्थानबाट भारत कमाउन गएका उनीहरुलाई नेपालगञ्ज नाकाबाट उद्दार गरि ल्याईएको जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका सिनियर अहेव अमर रानाले बताए । उनका अनुसार दिउँसो ८ जना पुरुष एवं साँझ थप १३ पुरुषसहित ३ जना महिलालाई क्वारेन्टाइनमा राखिएको छ । ती उद्दार गरिएका व्यक्तिलाई स्थानीय जन नमूना माध्यमिक विद्यालयमा राखिएको उनले जानकारी दिए ।

‘उद्दार गरिएका उनीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखेर नियमित स्वास्थ्य परीक्षण गरिनेछ,’ उनले भने, ‘कोरोना भाइरसको लक्षण तथा चिन्ह नदेखिएपछि मात्र उनीहरुलाई घर फर्काइने छ ।’ यसअघि भारतको रुपैडिहा एवं कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरिएका १०२ जनासहित अब सुर्खेत स्थित क्वारेन्टाइनमा बस्नेको संख्या १ सय २६ पुगेको छ । यता जन स्वास्थ्य सेवा कार्यालयका अर्का वरिष्ठ मलेरिया इन्सपेक्टर उदय विसीले उद्दार गरिएका ती व्यक्तिलाई चिकित्सकको निगरानीमा नै क्वारेन्टाइनमा राखिने जनाए । क्वाइन्टाइनमा बसेका ती सबै व्यक्तिलाई कर्णाली प्रदेश सरकारले खान, बस्नको व्यवस्था मिलाएको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख भूपेन्द्र गिरीले बताए । उनका अनुसार वीनपाद्वारा जन नमूना मावि स्थित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि ओढ्ना -विछौनाको व्यवस्था गरिएको छ । खुलामञ्चमा नेपाली सेनाले निर्माण गर्न लागिरहेको क्वारेन्टाइनमा झण्डै ४ सय बेड तयार भईसकेपछि शुक्रबारसम्म त्यहाँ उनीहरुलाई सारिने प्रदेश सरकारको योजना रहेको छ ।

Translate »