सुर्खेत बिहानैदेखि सुनसान

लकडाउनको दोस्रो दिन

स्काई न्यूज/ चैत १२, सुर्खेत ।
कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोस्रो दिन सुर्खेत पूर्ण रुपले बन्द भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीसँगै फाटफुट नेपाली सेनाको उपस्थिती देखिन्थ्यो । बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका थिए । वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङ्गेसीमलसम्मको क्षेत्र सुनसान रहेको छ । एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।

लकडाउनको अवहेलना गर्ने लाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेको छ । जिल्लाका सबै बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् । कोराना त्रासका कारण सुर्खेतमा स्थानीयहरु घर भन्दा बाहिर निस्किन चाहेका छैनन् । अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।


भारतबाट फर्किएका १०२ जना क्वारेन्टाइनमा
सुर्खेतमा भारतबाट फर्किएका १०२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार राति भारतबाट आउँदै गर्दा रुपैडिहा नाकामा अलपत्र परेका ५७ जना एवं बुधबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरिएका ४५ जना गरि कुल एक सय २ जनालाई चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उद्दार गरिएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने मन्त्री रावलले बताए । उनीहरुलाई तत्कालका लागि स्थानीय अशोका होटल र अन्तरनिर्भर समाजको होस्टलमा राखिएको छ । खुलामञ्चमा नेपाली सेनाले निर्माण गर्न लागिरहेको क्वारेन्टाइनमा झण्डै ४ सय बेड तयार भईसकेपछि बिहीबारसम्म त्यहाँ उनीहरुलाई सारिने प्रदेश सरकारको योजना रहेको छ । क्वारेन्टाइनमा रहने व्यक्तिहरुको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने मन्त्री रावलले जानकारी दिए ।

–यो फोटो फेसबुकबाट साभार गरिएको हो ।

उद्दारका लागि हटलाईन सेवा
लकडाउन सुरु भएसँगै बीच बटोमा अलपत्र परेका यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाईन सेवा शुरु गरेको छ । रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकाँश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बैठकले यस्तो निर्णय गरेको थियो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहने गरि १११० नम्बरको हटलाईन सेवा शुरु गर्ने निर्णय गरेको हो । यसबाट घर फर्कने उद्देश्यले यात्रा शुरु गरि लकडाउनका कारण बटोमा अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकले यो सेवाको उपयोग गरि सरकारलाई आफ्नो अवस्थाको बरेमा जानकारी दिन सक्ने छन् ।

Translate »