आयुर्वेद तथा जडीबुटीको पाठ्यक्रम तयार

अभियान /चैत १२, काठमाडौं ।
योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडीबुडीका विषयमा पाठ्यक्रम तयार भएको छ । योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन सरकारद्वारा गठित समितिले पाठ्यक्रम तयार पारेको हो । समितिले सोमवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । नेपाल संस्कृत विश्वविद्यालयका अध्यक्ष डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

प्राविधिक तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्य र सान्दर्भिकताको आधारमा विषय अध्यापन सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान समितिले गरेको छ । शिक्षामन्त्री पोखरेलले आवश्यक तयारी र छलफलपछि समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । समितिले ती क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटीसम्बन्धी ऐच्छिक विषयहरू तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ । नयाँ पाठ्यक्रममा नेपालको जडीबुडीसम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा. पोखरेलको भनाइ छ ।

Translate »