पत्याउनै मुस्किल ! प्रहरी र पत्रकार मिलेर लुटपाट

हिरा लुटपाटपछि परे प्रहरीको फन्दामा

थाहा खबर /चैत १०, हेटौंडा ।
मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्‍न ३ जना प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२, बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२, बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् । मकवानपुरको कैलाश गाउँपालिका–५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटपाट भएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

Translate »