जहरे, सल्लीबजारमा बिद्युतको महशुल अब घरबाटै

लाईनलाग्नुपर्ने र कार्यालय धाउनुपर्ने झन्झटको अन्त्य

स्काई न्यूज/ चैत ९, सुर्खेत ।
नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेतले बिजुलीको बिल तिर्न जहरे, सल्लीबजार विद्युत काउण्टर धाउनुपर्ने झन्झट अन्त्य गरेको छ । घरमै बसेर मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल तिर्ने व्यवस्थाको आइतबार प्राधिकरण सुर्खेत शाखा प्रमुख टंकराज गिरीले औपचारिक रुपमा शुरुवात गरेका हुन् । ‘अनलाइन पेमेन्ट प्रणाली’ जिल्लाको वीरेन्द्रनगर र छिन्चुपछि पूर्वी सुर्खेतका जहरेसँगै सल्यानको सल्लीबजारबाट विधिवतरुपमा शुरुवात भएको छ । यसअघि प्राधिकरण सुर्खेत शाखाले जिल्लाका ४ स्थानबाट विद्युत महशुल उठाउँदै आएको थियो । प्राधिकरणले अब सुर्खेत जिल्लाभरी नै ‘अनलाईन पेमेन्ट प्रणाली’ लागु गरेपछि बिजुली बिल तिर्न महिनामहिनामा विद्युत प्राधिकरणको काउन्टरमा जानुपर्ने बाध्यता अन्त्य गरेको हो । अब लामो लाइन लाग्नुपर्ने बाध्यतामा रहेका ग्रामीण उपभोक्तालाई उक्त झन्झटबाट मुक्ती मिलेको छ ।

‘घाम, पानी, हिलो धुलो नभनी कतिपय ठाउँमा त महशुलभन्दा बढी खर्च गरेर बिल तिर्न जानुपर्ने बाध्यता अब हट्यो,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुषालले भनिन्, ‘नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेतले शनिबारदेखि पूर्वी सुर्खेतको जहरे र सल्लीबजार काउण्टरबाट विद्युतीय भुक्तानी प्रणाली लागू गरेसँगै बिजुली बिल तिर्नकै लागि प्राधिरणको सेवा केन्द्र धाउनुपर्ने समस्याको अन्त भएको हो ।’ उनले उपभोक्तालाई सुविधासँगै पारदर्शी राजश्व संकलन सुनिश्चित गर्न मोबाइल तथा अनलाईन भुक्तानी प्रणाली सशक्त माध्यम हुने विश्वास बताईन् । उनका अनुसार यसअघि ग्रामीण भेकका कतिपय स्थानमा उपभोक्ताले बिलभन्दा बढी खर्च गरेर सेवा केन्द्र जानुपर्ने बाध्यता रहेको थियो । यता प्राधिकरण सुर्खेत शाखा प्रमुख गिरीले कुनै पनि ग्राहकहरुले सेवा किनिसकेपछि त्यसको भुक्तानीको लागि दुःख पाउनुपर्ने बिडम्बना अन्त्यका लागि जिल्लाभरी ‘अनलाईन पेमेन्ट प्रणाली’ लागु गरिएको जानकारी दिए ।

‘जिल्लाका दुरदराजका ग्राहकलाई सहज होस भनेर नै यो प्रणाली शुरु गरिएको हो,’ उनले भने, ‘गुणस्तरीय सेवा दिने प्राधिकरणको लक्ष्य भएकाले त्यही अन्तर्गत भुक्तानी प्रणालीलाई सर्व सुलभ बनाउँदै विस्तार गरिएको हो ।’ उनले अनलाईन पेमेन्ट प्रणाली पारदर्शि हुनुका साथै ग्राहकलाई समेत सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । उनका अनुसार शनिबारदेखि शुरु भएको ‘अनलाईन पेमेन्ट प्रणाली’ बाट पूर्वी सुर्खेतका जहरे एवं सल्लीबजार महशुल काउण्टर अन्तर्गतका गुर्भाकोट नगरपालिका, लेखबेसी नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिकासँगै सल्यानको ‘नो लाईट’ क्षेत्र बन्गाड कुपुण्डे दह नगरपालिकाका ११ हजार पाँच सय ३६ जना ग्राहक प्रत्यक्ष लाभान्वित हुने छन् । हाल सुर्खेत जिल्लाभरी विद्युत प्राधिकरणका ४८ हजार बढी ग्राहक रहेका छन् ।
कसरी तिर्ने अनलाईन बिल ?
अनलाईनबाट बिजुलीको बिल तिर्न बैंक खाता हुने ग्राहकलाई सबैभन्दा सजिलो छ । त्यसपछि मोबाईल वा एसएमएस बैंकिङ मार्फत बिल तिर्न सकिन्छ । यदि बैंकमा खाता छैन वा खाता भएर पनि मोबाईल वा एसएमएस बैंकिङको सेवा नलिएको भए अनलाईन पेमेन्टको स्वीकृति लिएका वित्तिय संस्थाबाट बिल तिर्न सकिन्छ । अनलाईन मार्फत बिजुलीको बिल तिर्न महालक्ष्मी विकास बैंक, ई–सेवा, प्रभु बैंक, पे–प्वाइन्ट, सिएफएस रेमिट, पेपोस्ट नेपाल र सिटि एक्सप्रेस मनिट्रान्सफर, हिमालयन बैंक, नेपाल ईन्भेस्टमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडलगायतबाट सकिनेछ । सबैभन्दा बृहत सञ्जाल ई–सेवाको छ ।

बैंकको शाखा नजिकमा नहुने उपभोक्ताले स्वीकृति लिएका मनीट्रान्सफर, ईसेवा एवं पेपोस्ट सेवा प्रदायक काउन्टरबाट पनि बिल तिर्न सकिने प्राधिकणका सुर्खेत शाखा प्रमुख गिरीले जानकारी दिए । बिदेशमा बस्नेले समेत मनी ट्रान्सफरहरु मार्फत बिल तिर्न सक्नेछन् । अनलाइन पेमेन्टको लागि कुनै अतिरिक्त भुक्तानी गर्न नपर्ने उनले जानकारी दिए । विद्युत महसुल भुक्तानीको लागि स्वीकृत पाएको मध्येको एक ईसेवाका अनुसार प्राधिकरणको ग्राहकसँग भएको बैंक खाता, ईसेवा खाता वा दुवै नभएमा नजिकै भएको ईसेवा एजेन्टको बाट भुक्तानी गर्नसक्ने छन् । इसेवाबाट इन्टरनेट, हवाई जहाजको टिकट तथा अन्य सेवा तथा वस्तुको खरिदमा भुक्तानी गरेजस्तै विद्युत महसुल पनि तिर्नसक्नेछन् । ईसेवामा हुने विद्युत महसुल बटममा क्ल्लिक गरेपछि त्यसमा ग्राहक नम्बर थिच्नेवित्तिकै ग्राहकको नाम, तिर्नपर्ने बक्यौता आउने र त्यही अनुसार ईसेवा अथवा बैंक खाताबाट प्राधिकरणको खातामा पैसा जाने छ । प्राय सबै सेवाप्रदायकहरुको सिस्टम एउटै भएकोले त्यही अनुसार भुक्तानी हुने बताइएको छ । सेवा प्रदायकहरुका एजेन्ट, आउटलेट, शाखा मार्फत ग्राहकहरुले भुक्तानी गर्न सक्छन् ।

Translate »