कर्णालीमा १ हजार बेडको क्वारेन्टाइन निर्माण हुँदै

प्रदेश सरकारद्वारा ५० करोडको विपद कोष खडा

स्काई न्यूज /चैत ७, सुर्खेत ।
विश्वव्यापी फैलिएको कोरोना त्रासबाट कर्णाली प्रदेश सरकारले एक हजार बेडको क्वारेन्टाईन स्थापना गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै १ हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको जानकारी दिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथाम सम्बन्धी बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भारतबाट आउने व्यक्तिलाई स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिने जनाईन् । ‘सबै जिल्लामा अनिवार्य रुपमा क्वारेन्टाइन स्थापना गर्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ,’ उनले भनिन, ‘भारतबाट फर्केर सिधै गाउँमा पुगेका व्यक्तिलाई पनि स्थानीय स्वास्थ्य संयन्त्रमार्फत चेकजाँच गरिनेछ ।’ उनका अनुसार प्रदेश सरकारले कोरोना रोकथामको लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष समेत स्थापना गर्ने निर्णय गरेको छ ।

हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर पनि प्रयोग गरिने उनले जानकारी दिइन् । ‘प्रदेश सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समितिसमेत गठन गरेको छ,’ उनले भनिन्, ‘यो सिजनमा मात्र करिब १ लाख कर्णालीवासी घर फर्किने अनुमान गरिएको छ ।’ उनले भारतसँगको सीमा सिल नगरिएको कारण मान्छेहरु निर्वाधरुपमा आईरहेकाले प्रदेश प्रवेश गर्ने नाकामा कडाइ गरिरहेको बताईन् । राम्रोसँग परीक्षण भएन भने भयावह अवस्था आउन सक्ने भएकाले सुर्खेत विमानस्थल, बबई र कुइने तथा सल्यानको कपुरकोटमा हेल्थ डेस्क राखिसकेको जनाईन् । उनका अनुसार चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा राख्ने भनिएको हेल्थ डेस्क हिउँ नपग्लिएको कारण यालबाङमा राखिएको छ । यता नेपाली सेनाको उत्तरपश्चिम पृतना नेवारेका पृतनापति सरोजप्रताप राणाले  रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र सुर्खेतमा अबको एक साता भित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गरिने जनाए । बैठकले प्रदेश प्रवेश गर्ने हवाई तथा स्थलमार्गका नाकाहरुमा उच्च सतर्कता अपनाई त्यस्ता नाकाहरुबाट नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिने गरि लक गर्ने निर्णय समेत गरेको छ । त्यस्तै विदेशी नागरिकलाई सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतीले मात्र प्रवेश गर्न दिने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । त्यसरी प्रवेश गर्ने व्यक्तिलाई प्रदेशको क्वारेन्टाईनमा कम्तिमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाईएको प्रदेश सरकारको भनाइ छ । सम्वन्धित जोखिमलाई ध्यानमा राखि अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Translate »