महासंघको चुनाव स्थगन गर्न सुउवा संघको आग्रह

स्काई न्यूज /फागुन ४, सुर्खेत ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावी अधिवेशन तत्कालका लागि स्थगित गर्न सुर्खेत उद्योग वाणिज्यले आग्रह गरेको छ । संघले पछिल्लो समय विश्वमा नै कारोना भाईरस (कोभीड–१९) बाट आजित भईरहेका बेला नेपाल सरकारले समेत अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन, सार्वजनिक स्थलमा भिडभाड नगर्न तथा धेरै मानिसहरुको उपस्थिती रहने सभा सम्मेलनलगायतका कार्यक्रम नगर्न आग्रह गरिरहेको सन्दर्भमा महासंघ जस्तो जिम्मेवार संगठनले सामाजिक तथा राष्ट्रिय दायित्वलाई आत्मसाथ गर्दे तत्कालका लागि चुनावी अधिवेशन स्थगित गर्न माग गरेको हो ।


‘संघका अध्यक्ष धनबहादुर रावत एवं महासचिव लक्ष्मण कँडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,’ ‘महासंघको चुनावी हल्लाले सार्वजनिक रुपमै टिका टिप्पणी तथा आलोचनाले भईरहेका बेला महासंघकै साख एवं गरिमा आँच पु¥याउने गरि हुने चुनावी अधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरिएको छ ।’ संघका अध्यक्ष रावतले कोरोनाको प्रभाव निष्क्रिय भई स्थिती सामान्य भईसके पछिको अवस्थामा मात्र महासंघको चुनावी अधिवेशन गर्न श्रेयष्कर हुने सुउवा संघले ठहर गरेको जनाए । त्यस्तै संघका महासचिव कँडेलले व्यापारी, व्यवसायीको बेइज्जत हुने गरि अनावश्यक भ्रम फैलाएर मास्क, सिनेटाईजर, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुहरुको कालोबजारी गरिरहेको भन्ने गुनासो तथा समाचारप्रति आपत्ती जनाउँदै सुर्खेतमा त्यस्तो स्थिती नरहेको स्पष्ट पारे । उनले भने, ‘जिल्लामा हालसम्म त्यस्तो स्थिती नभएपनि आगामी दिनमा सृजना हुन नदिन नेपाल सरकारको कानूनसँगै संघले जारी गरेको व्यवसायिक आचारसंहिताको पूर्ण पालना गरि आवश्यकता अनुसारका सामानहरु निर्धारित तवरमा उपलब्ध गर्न, गराउन हुन सम्पूर्ण सदस्य एवं व्यापारी, व्यवसायीसँग आग्रह गर्दछु ।’ उनले आधिकारिक सूचना बाहेकका भ्रमपूर्ण हल्लाको पछाडी नलागि आवश्यकता भन्दा बढी दैनिक उपभोग्य सामाग्रीहरुको भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरे ।

Translate »