कोरोना त्रासले सुर्खेतका होटल सुनसान

व्यवसायीले कर्मचारीलाई बिदा दिन थाले

स्काई न्यूज/ चैत ३, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटलहरू सुनसान जस्तै हुन थालेका छन् । यसअघि दिनहुँजसो कार्यक्रमले व्यस्त हुने होटलहरू अहिले कोरोना भाइरसको सन्त्रासले सुनसान हुन थालेका हुन् । कोरोना भाइरसको डरले होटलमा संघसंस्थाका कार्यक्रम आयोजना र पर्यटक आगमन हुन छाडेपछि होटलहरू सुनसान बनेको व्यवसायीले बताएका छन् । होटलमा कार्यक्रम एवं पाहुना कम हुन थालेपछि व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । होटलमा १५ देखि २० प्रतिशत पाहुना आउन थालेपछि चैत १ गतेदेखि लागू हुनेगरी कर्मचारीलाई तलबी तथा वेतलबी बिदा दिई घर पठाएको सिद्धार्थ शनी रिसोर्टका प्रबन्धक प्रदीप न्यौपानेले जानकारी दिए । कोरोना भाइरसका कारण होटलमा पाहुुना आउन छाडेपछि कर्मचारीको काम नहुने भएकाले कर्मचारीलाई बिदा दिइएको उनले बताए । उनका अनुसार रिसोर्टले आफ्ना १० जना कर्मचारीलाई बेतलबी विदा दिएको छ ।

सुर्खेतमा नाम चलेको अर्को ठूलो शुभ होटल प्रालिले समेत १० जना कर्मचारीलाई तलबी बिदा दिइएको प्रबन्धक दमनजंग शाहले बताए । त्यस्तै होटल नमस्ते नेपालले पनि कर्मचारीलाई बेतलबी बिदा दिएको प्रबन्धक हेमराज रावतले बताए । रारा जाने पर्यटकीय सिजन शुरू हुँदा पनि होटलमा बुकिङ नहुँदा व्यवसाय चौपट भएको रावतले बताए । ‘सरकारले कोरोना भाइरसबाट संक्रमण हुन नदिन मेला महोत्सव जस्ता क्रियाकलापमा रोक लगाउनुले समेत होटलहरू सुनसान हुन पुगेका छन्,’ होटल व्यवसायी महासंघ कर्णाली प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले भने, ‘घाटामा चलिरहेका होटलहरूले बाध्य भएर खर्च कम गर्न कर्मचारीलाई बेतलवी बिदा दिनुपरेको हो ।’

सिजनमै पाहुना आगमनको कमीले बैंक एवं वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार व्यवसायीले भ्रमण वर्ष शुरू भएपछि होटलको सेवा सुविधा बढाउन लगानी बढाएका थिए । सुर्खेतमा १३ ओटा मात्र पर्यटक बस्न मिल्ने स्तरीय होटल छन् । कर्णाली सरकारले विदेशी पर्यटक मात्र एक लाख भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरेको थियो । तर, भ्रमण वर्ष शुरू भएको एक/डेढ महीना पूरा हुन नपाउँदै कोरोना भाइरसको त्रासले कर्णालीको पर्यटन एवं होटल व्यवसाय क्षेत्रमा प्रत्यक्ष असर पुगेको व्यवसायीको गुनासो छ । कोरोनाकै त्रासले कर्णालीमा विगत डेढ महीनादेखि पर्यटक आगमन शून्य जस्तै भएको छ । व्यवसायीका अनुसार सुर्खेतका होटलका ८० प्रतिशत कोठा खाली छन् ।

Translate »