सन्तति र शिक्षाका लागि अभिभावकको भूमिका


जीतबहादुर शाह
थोमस अल्वा एडिसनलाई एकदिन उनकी शिक्षिकाले आमालाई दिनु भनेर एउटा चिट्ठी थमाइन । चिट्ठी पढेर आमाले आशु झारिन । असह्य पीडा बोध भयो तथापि पिडा लुकाउने कोशिस गरिन । थोमसले आमालाई पत्रमा के लेखेको रहेछ भनेर सोधे । आमाले ‘तिमी मेधावी छौं रे, यति मेधावी विद्यार्थीलाई पढाउनका लागि हाम्रोजस्तो सानो विद्यालयसँग जनशक्ति र स्रोत छैन । बरु स्कूलमा पठाएर पढाउनुको सट्टा आमाले घरमै राखेर जीवन र जगतको बारेमा सहजीकरण गर्दै अगाडि बढाउदा उपयुक्त हुन्छ’ भनी लेखिएको रहेछ भनिन् । त्यसपछि थोमस स्कूल गएनन् ।  नियमितरुपमा आमासंग पढ्न थाले । पछि उनी ख्यातिप्राप्त बैज्ञानिक भए । एकदिन थोमसको आमा बितिन । थोमस एक्लै भए ।

एकदिनको कुरा हो, घरमा कागजात मिलाउने क्रममा थोमसले स्कुलले लेखेको धेरै पुरानो पत्र भेटाए, जसमा लेखिएको थियो– ‘थोमस जस्तो बुद्धुलाई हाम्रो स्कूलमा पढाउन सकिदैन । उसलाई भोलिदेखि स्कूल नपठाउनु ।’  पत्र पढेपछि उनले आमालाई सम्झे । मन थाम्न सकेनन् । भक्कानिएर रोए थोमस ।

पत्रमा के लेखेको रहेछ आमा भनेर आफूले सोध्दा आमाले दिएको जवाफ सम्झे । स्कूलले जे लेखेको थियो त्यही कुरा मलाई आमाले भनेको भए मेरो जीवन कस्तो हुन्थ्यो होला भनेर परिकल्पना गरे थोमसले । आज आफू ख्यातिप्राप्त बैज्ञानिक हुनुमा आमाको ठूलो योगदान रहेको कुरा सम्झे । अनि आमालाई नमन गरे र यति महान आमा दिएकोमा आफ्नो भगवानलाई धन्यवाद दिए । आज भने परिवेश फरक छ । थोमसले जस्तो महान आमा पाउनु भनेको सन्तानहरुका निम्ति दुर्लभ भएको छ । त्यही भएर होला, सामाजिक सञ्जालमा भाइरल भएको एउटा बाल नाटकमा शिक्षकले विद्यार्थीलाई सोध्छन् –‘तिम्रो सामू भगवान प्रकट भएर एउटा चिज माग, म दिन्छु भनेपछि तिमी के माग्छौ ? एकजना विद्यार्थीले जवाफ दिन्छन –‘मैले सोधेको जिज्ञाशाहरुको सहज र खुशीसाथ जवाफ दिने र मैले गृहकार्य गर्दा मसँगै बस्ने आमा बाबा माग्छु ।’ किनभने उसका बाबाआमाहरु उसलाई बुझ्दैनन्, सुन्दैनन् र समय दिदैनन् ।

आमाबाबा र अभिभावकको महत्व र गरिमाको बारेमा धेरै विद्वानहरुले धेरै कुराहरु भनेर गएका छन् । नेपालियन बोनापार्टले ‘तिमी मलाई एउटी असल आमा देउ, म तिमीलाई एउटा असल राष्ट्र दिन्छु’ भनेर गएका छन् जसको महत्व अद्वितीय छ । भन्नुको मतलव आमा असल भए सन्तती असल हुन्छन् र अन्ततः असल सन्ततीहरुले राष्ट्र असल बनाउछन् । डा. टि.पी. चियाले अभिभावकको प्रेम मात्र त्यस्तो प्रेम हो जो निस्वार्थ, निशर्त र क्षमाशील हुने गर्दछ भनेका छन् । त्यसरी नै उनको भनाई यस्तो पनि रहेको छ – ‘एउटा असल पिता प्रेरणा र आत्मविश्वासको स्रौत हो भने एउटा असल आमा दया, माया र हार्दिकताको जरा हो ।’ त्यसै गरी मिष्टर प्रशान्तले भनेका छन् – ‘तिमीले तिम्रा अभिभावकलाई कहिल्यै पनि चिट नगर । किनभने त्यतिबेला तिमीले तिम्रा अभिभावकलाई होइन कि तिमीले स्वयम आफैलाई चिट गरिरहेका हुन्छौ ।’ त्यसरी नै हेनरी वार्ड बीचरले भनेका छन् –‘तिमी आफै अभिभावक नहुँदासम्म तिमीलाई अभिभावकको मायाको बारेमा जानकारी हुने छैन ।’ अभिभावकको बारेमा यस्तो पनि भनाइ रहेको छ– ‘तिमीले अरुलाई खुशी बनाउनका लागि आफ्ना अभिभावकसँग कहिल्यै पनि नरिसाउ किनभने तिम्रा अभिभावकले झै तिनीहरुले तिम्रा जीवन बनाउन आफ्नो जीवन खर्च गरेका छैनन् ।’

विद्वानहरुले अभिभावकको बारेमा विशद चर्चा र महिमा गाएर गए पनि अहिलेको अवस्था त्यसैमा चित्त बुझाएर बस्ने जस्तोे देखिदैन । भन्नुको मतलव, अहिलेका अभिभावकहरु पहिलेका जस्ता दिलदार हुन नसकिरहेको हो कि झै महसुस हुन थालेको छ । रमाइलो गर्ने क्रममा सन्तान जन्माउने र त्यसरी जन्मने सन्ततीका कारण खुशी र रमाइलो कुण्ठित हुने अवस्था भयो भने सन्ततीप्रति नै वेवास्ताका प्रपञ्चहरु रच्ने काम अभिभावकहरुबाट हुने क्रम बढ्दो छ । एकजना संस्थागत विद्यालयका सञ्चालकले भन्नु हुन्छ – ‘पहिलोपटक सन्तानलाई ल्याएर होष्टेलमा राखिदिने र त्यसपछि भेट्न पनि नआउने र शुल्क पनि नतिर्ने अभिभावकहरुबाट धेरै आवासीय संस्थागत विद्यालयहरु आक्रान्छ छन् ।’ विद्यालय त त्यत्ति पिडामा छ भने विचरा अभिभावक भेटन नआउने सन्तानको पीडा झन कति चर्को होला, अनुमान गर्न समेत गाहे हुन्छ । त्यस्ता अभिभावकहरुले सन्तानलाई बोझको रुपमा सम्झेर उक्त बोझ हल्का बनाउनका लागि स्कूल र छात्रावासतिर लिएर छोडिदिएका होलान सायद ।

मानिस अहिले पहिले भन्दा अलि बढि स्वार्थी र आत्मकेन्द्रित भएको छ । आफ्नो खुशी र सन्तुष्ठिको लागि जे गर्न पनि पछि पर्दैन तथापि अरुलाई भने चासो राख्दैन । परिवारका सदस्यहरुलाई समेत मतलव गर्दैन । भोली उसको जीवनका पाटाहरु अरुसँग र त्यसमा पनि परिवारका सदस्यहरुसँग गाँसिएका छन् भन्ने कुरा पनि भुलिरहेको छ मानिस । उ खुशी हुनका लागि अरु कसैले पनि साथ दिनुपर्छ भन्ने कुरा उसलाई हेक्का छैन ।

जव उसका सन्ततीहरु, पत्नी र परिवारका अन्य सदस्यहरु उसको उचित सहयोग र मायाको अभावमा बाटो विराएर बरालिन्छन् । अनि उसलाई आफ्नो खुशी खोसिएको बोध हुन थाल्नेछ क्रमशः । अरु त उसले आफैले पनि ब्यवस्था गर्ला । तर आफूले जन्माएको सन्ततिलाई उसले आफ्नो होइन त कसरी भन्ला र ? बाहिर भनेपनि भित्री मनले त अवश्य भन्ने छैन ।

यस्तो अवस्थामा आफ्नो सन्तति सडकमा वेवारिसे देख्दै गर्दा उ आफू कार चढेर हिडेपनि आँखाबाट तप्प तप्प आँशु त झर्छ होला नै । आज धेरै अभिभावकको अवस्था यही बाटो भएर गुज्रिने स्थितिको पटाक्षेप हुदै गइरहेको छ । छोटो समयको भलाकुसारीको क्रममा शैक्षिक अभियन्ता गोविन्द कोइराला भन्दै हुनुहुन्थ्यो – ‘स्कूले विद्यार्थीहरु लागू औषध दुर्व्यसनको शिकार भइरहेका छन् । यो समस्या भूसको आगो जस्तै भयावह हुदै गइरहेको छ । हाम्रा सम्पूर्ण सपनाहरु चक्नाचुर बनाउन यति भए अरु केही चाहिन्छ जस्तो लाग्दैन ।’ वहाँ अगाडी थप्दै हुनुहुन्थ्यो – ‘मैले कक्षा १२ मा अध्ययन गर्ने छोरालाई मोवाइलमा अलि बढि समय विताएको देखेर एकदिन उसलाई अलि ठूलो स्वर गरें । छोराको जवाफ थियो, ‘यो समयमा हजूर भाग्यमानी हो बाबा । लुकी लुकी जे पनि गर्ने र जे पनि खाने छोरा हजूरको छैन । जे गर्छु हजूरहरुको सामू गर्छु । तर थाहा छ बाबा, हाम्रा साथीहरु अधिकांश दूव्र्यसनका शिकार भएका छन् । उनिहरुले देखाएर गर्ने काम भन्दा लुकेर गर्ने कामहरु धेरै छन् ।’ गोविन्द कोइराला र वहाँको छोराले भनेका कुराहरु धेरै हदसम्म वास्तविक हुन् । यसको कारण एउटै हो कि आज बालबालिका अभिभावकको समीपमा छैन । चाहेर पनि हुन सकिरहेको छैन । उसलाई माया, सद्भाव र खुशी दिने मानिसको अभाव छ । खुशी खोज्ने क्रममा एउटा त्रासदीपूर्ण दुर्व्यसनको बाटो रोजिरहेको छ ।

हाम्रो देशको परिवेशमा शिक्षा भने जस्तो नहुनु, शिक्षामा अनपेक्षित राजनीति हुनु, बालबालिका बरालिनुमा अभिभावकको भूमिका निष्क्रिय हुनु पनि एउटा ठूलो कारण हो । मलाई त लाग्छ, बालबालिकाको शिक्षामा अभिभावक सचेत र जिम्मेवार हुने वित्तिकै धेरै कुराहरु मिल्दै जान्छन् । अभिभावक सचेत र जिम्मेवार छ भने उसले सन्ततिहरुलाई समय दिन्छ र उनिहरुको सुखदुखमा सहभागी हुन्छ ।

उनिहरुको समस्या बुझ्छ र समाधानका लागि प्रयत्न गर्छ । उनिहरु अध्ययन गर्ने विद्यालयमा पनि पुग्छ र विद्यालयमा आफ्नो सन्तति लगायत विद्यालयको समग्र अवस्थाको बारेमा पनि बुझ्ने र विश्लेषण गर्ने प्रयाश गर्छ । यदि विद्यालयमा कसैबाट अनपेक्षित क्रियाकलापहरु भइरहेका छन् र त्यसले आफ्नो सन्तति लगायत समग्र शिक्षामा प्रतिकूल असर पार्ने स्थिति छ भने त्यसका लागि निगरानी र खवरदारी गर्छ । यसरी सम्पूर्ण अभिभावक जागे र लागे भने विद्यालयमा शिक्षकले लापरवाही गर्ने लगायत विद्यालयले सामना गरिरहेको आर्थिक एवम् भौतिक पक्षसँग सम्बन्धित समस्याहरुको समाधान स्वाभाविक रुपमा हल हुदै जाने कुरामा कुनै सन्देह देखिदैन ।

अभिभावक बढि त आफ्नै कारणले र केही हदसम्म सरकारी रवैयाका कारणले पनि हालको अवस्थामा शिक्षामा निष्क्रिय देखिएको अवस्था छ । सरकारले शिक्षामा चासो राख्ने अभिभावकलाई विद्यालयको विकासमा सरीक गराउन सकिरहेको छैन । सरकार चलाउने राजनीतिक दलहरुले आफ्नो मान्छे खोज्ने क्रममा विद्यालयमा योगदान गर्ने राम्रा मानिसहरु ओझेलमा परेका छन् । यसका साथै अभिभावकलाई जागरुक र जिम्मेवार बनाउने प्रकारका कार्यक्रमहरु पनि सरकारी पक्षबाट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकिरहेको स्थिति छ । निष्कर्षमा भन्नु पर्दा सरकारले गरेका कमीकमजोरीलाई खवरदारी गर्ने काममा अभिभावक उठ्न सक्यो र जुट्न सक्यो भने सरकार बाध्य भएर अभिभावकको पछि लाग्नुपर्छ नै । यसकारण पनि अभिभावक आफ्नो सन्तति र आफ्नो सन्तति अध्ययन गर्ने विद्यालयको समुन्नतिका लागि गम्भीर भएर लाग्नुको विकल्प देखिदैन । यसो गर्न सकियो भने कसैले बुद्धु भनेको थोमस अल्बा एडिसनलाई पनि बैज्ञानिक बनाउन सकिन्छ । अन्यथा सन्तान दुव्यर्सनी भएर कहिले सडकमा त कहिले कस्टडीमा बसिरहँदा अभिभावकलाई अमनचयन त कसरी मिँल्ला र ! सबैलाई चेतना भया ।

 

 

Translate »