आमाबाट बिछोडिएकालाई ‘आमा’

अनाथलाई न्यानो काख बालग्राममा

स्काई न्यूज /फागुन २१, सुर्खेत ।

‘आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् । सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।आमा शब्द आफैँमा पूर्ण र भरिपूर्ण मात्र होइन, सम्पूर्ण पनि हो । आमा शब्दका अगाडि ममतामयी, स्नेही, पूजनीय आदिजस्ता विशेषणको पनि कुनै अर्थ नहुने रहेछ । तपाईं आफ्नो आमाछेउ जानुस् र भन्नुहोस्– मेरी आमा, मेरी ममतामयी आमा आदि आदि फुर्का जोड्दै आमालाई सम्बोधन गर्नुहोस्, आमा हाँस्नुहुन्छ र मेरो छोरालाई के भएछ भनी शङ्का गर्नुहुन्छ । आमालाई सही रुपमा सम्बोधन गरी बोलाउने तरिका हो, आमा मात्र भन्नु । आमा शब्द आफैँमा व्यापक छ । शास्त्रमा भनिएको छ, भगवान् र भगवान्को नाममा कुनै फरक छैन, एउटै हो । तपाई, हामीले आमा शब्द सुन्नासाथ आफ्नै आमालाई सम्झन पुग्छौँ । पुस्तकमा कतै भनिएको छ, संसारमा सबै ठाउँमा भगवान् पुग्न सक्दैनन, त्यसैले उनले आमा बनाए ।


जन्मदिने आमा पनि सानैमा टाढिएपछि डाक्टर देवराज भारतीलाई मिठुनिधि तिवारीले आमाको न्यानो काख दिएर हुर्काइन् । फतेवहाल आँखा अस्पताल नेपालगन्जमा कार्यरत उनी जन्म दिने आमा टाढिए पनि आफूले आमाको न्यानो काखको अभाव महसुस गर्नु नपरेको बताउँछन् । बुवाको निधनपछि आमाले अर्को विवाह गरेपछि उनी ६ वर्षको हुँदादेखि नै एसओएस बालग्राम सुर्खेतमा हुर्केए । उनलाई हुर्काएकी आमा मिठुनिधिले भनिन्,’ ‘आफ्नो कोखबाट नजन्माए पनि आफ्नै काखमा हुर्किएको छोराको प्रगति देख्दा निकै खुसी लाग्छ ।’ एसओएस बालग्राम सुर्खेतमा सेवाबाट अवकाश लिएर जीवन बिताइरहेकी ६९ वर्षीया तिवारीले भारतीसहित २७ जना छोराछोरीलाई आमाको न्यानो काख दिएर हुर्काएको बताउँछिन् । उनले पालनपोषण गरेका छोराछोरीहरु अहिले डाक्टर, इन्जिनियर, बैङ्क म्यानेजरलगायत विभिन्न पेशा र पदमा छन् । ४८ वर्षीया पार्वती गुरुङले पनि २३ वर्षदेखि अनाथ बालबालिकालाई आमाको न्यानो माया दिँदै आएकी छन् । विवाह नगरी ऊर्जाशील जीवन अनाथ बालबालिकाको स्याहार सुसार र शिक्षादीक्षामा खर्चिएकी उनी आमाको अभाव पूरा गर्न पाउँदा सन्तुष्टि मिलेको बताउँछिन् । बालग्राम बनेपामा कार्यरत उनी आफूले नजन्माए पनि सानैदेखि आफैँले हुर्काएका छोराछोरीसँग गाँसिएको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्न नसकिने बताउँछिन् । आमाबाबु गुमाएर एसओएस बालग्रामको संरक्षणमा आएका कैयौँ बालबालिकालाई मिठु र पार्वती जस्ता धेरै आमाहरुले आमाको न्यानो काख दिएर वषौंदेखि हुर्काइरहेका छन् । धेरै दुस्ख कष्ट सहेर हुर्काएर आफ्नै खुट्टामा उभिन सक्षम बनाइएका छोराछोरीले पनि आमालाई उत्तिकै माया गर्ने गरेका छन् । उनीहरुले आमालाई देश विदेशमा गुमाउने, बिरामी पर्दा उपचार गर्ने, चाडपर्वमा भेट्न आउने गर्छन् । तीन पटक अस्ट्रेलिया घुमेर आएकी पार्वती गुरुङले भनिन्, ‘स्वदेश–विदेश जहाँ रहे पनि छोराछोरीले सुखदुखमा सम्झि नै रहन्छन् ।’ फरक–फरक उमेर, समुदाय र पृष्ठभूमिका ८–१० जना बच्चालाई वषौंसम्म सँगै राखेर हुर्काउँदा कयौँ रात नसुतेरै बितेको आमाहरु बताउँछन् । महिना दिन भित्रका ६ सहित ३२ जना बच्चाहरु हुर्काएकी शर्मिला केसी हुर्काउँदा जति दुःख सहे पनि उनीहरु सक्षम भएपछि दुःखहरु बिर्सिने गरेको बताउँछिन् । एसओएस बालग्रामको संरक्षणमा ल्याइएका बच्चालाई बालग्रामका आमाको जिम्मामा दिँदै ‘बच्चा हातमा परेपछि उसलाई कसरी हुर्काउने र सक्षम बनाउने भन्ने चिन्ता आमालाई हुँदो रहेछ,’ हालसम्म अविवाहित उनी भनिन् । ‘मन्दिरमा गएर नपाएको शान्ति बच्चाहरु हुर्काउँदा पाइँदो रहेछ,’ ३२ जना छोराछोरीलाई हुर्काएकी आमा विष्णु अधिकारीले भनिन, ‘आफूले हुर्काएका छोराछोरीको शिर सधैँ उँचो भएको देख्ने चाहना हरेक आमामा हुन्छ ।’ सानैदेखि स्याहार सुसार गरेका छोराछोरीले पनि आमाकै रुपमा आत्मीय व्यवहार गर्दा गर्वको अनुभूति हुने उनी बताउँछिन् । ३ वर्षको हुँदा बुवा आमा गुमाएपछि बालग्राममै हुर्केकी आस्था खत्री जन्म दिने आमाले छोडेर गए पनि आमा नभएको महसुस कहिल्यै नभएको बताउँछिन् । हरेक सफलतामा हुर्काउने आमाको हात रहेको उनी बताउँछिन् । पूर्ण छात्रवृत्तिमा अमेरिकाको एउटा विश्वविद्यालयमा अध्ययनरत उनी भनिन्, ‘मेरो हरेक सफलताको पछाडि मलाई हुर्काउने आमाको ठूलो हात छ ।’ बालग्राममा पाएको पारिवारिक वातावरण, आमासँगको भावनात्मक सम्बन्ध र घरलाई कहिल्यै पनि बिर्सन नसक्ने बालग्रामका हुर्केकाहरु बताउँछन् । प्राकृतिक प्रकोपजस्ता विभिन्न कारणले आमाबाबु गुमाएका बालबालिकाको स्याहार गर्ने आमाहरुले बालग्रामबाट तलबसहितको सेवा सुविधा पाउँछन् । तर ती आमाहर भन्छन, ‘जीवनभरि छोराछोरीलाई गरेको मायालाई पैसामा तुलना गर्न मिल्दैन् । आमाहरुले आफूले हुर्काएका छोराछोरीको विवाह पनि आफ्नै हातले गरिदिएको बताउँछन् । पढाई पूरा गरेर बाहिर गए पनि आफूले हुर्काएका छोराछोरी नियमित रुपमा भेटघाटमा आउने, बिरामी पर्दा पैसा पठाउने, फोन गरेर सन्चो बिसन्चो सोध्ने, सुखदुखमा साथ दिने गरेको ती आमाहरुको भनाइ छ । ‘आमाहरु छोराछोरीले प्रगति गर्दा खुसी र बाटो बिराउँदा दुखी हुनुहुन्छ,’ बालग्राममै हुर्केका श्याम क्षेत्रीले भने, ‘जन्माउने भन्दा पनि हुर्काउने आमासँगको आत्मीयता बढी हुँदो रहेछ ।’ ‘जस्तो खाना लगाउन खोज्छन, त्यस्तै पु¥याउनु पर्छ,’ मिठुनिधिले भनिन्, ‘मनको भावना बुझ्न सकिएन भने उनीहरुले बाटो बिराउन सक्ने उनको बुझाइ छ । थोरै समय काम गर्ने सोच बनाएर बालग्राम प्रवेश गरेका आमाहरु बच्चाहरु हेर्न थालेपछि विवाह गर्ने सोच नै नआएको बताउँछन् । हर्मन माइनर विद्यालय सुर्खेतका प्राचार्य जगदीश ढकाल बालग्रामका आमाहरुले हुर्काएका बालबालिका जिम्मेवार, मेहनती र अनुशासित हुने गरेको बताउँछन् ।

एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माका अनुसार नेपालमा रहेका १० वटा बालग्राममा १९६ जना आमाहरुले अहिले १६ वर्षमुनिका १ हजार १ सय ८५ जना बच्चाहरुलाई न्यानो काख दिएर हुर्काइरहेको छन् भने ७१७ जना किशोरकिशोरीहरु युवालयमा छन् । आमाबाबु गुमाएर नेपालका बालग्रामको संरक्षणमा आएका ४ हजार ३ सय ७४ जना आफ्नो खुट्टामा उभिन सक्षम भएर समाजमा पुर्नस्थापित भएको उनले बताए । उनीहरु डाक्टर, इन्जिनियर, कर्मचारी, स्वास्थ्यकर्मीकोरुपमा कार्यरत छन् । आमाको अनुपस्थितिमा उनीहरुलाई काकीहरुले रेखदेख र स्याहार सुसार गर्ने एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले सुनाए । बालग्रामका निर्देशकले पनि उनीहरुको समाजमा पुर्नस्थापित हुनको लागि आधार निर्माण गर्न सघाउनेदेखि लिएर कार्य प्रगतिबारे परामर्श दिनेसम्मको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । ६० वर्ष पुगेपछि सेवा निवृत्त हुने आमाहरुलाई बाँचुन्जेल आवास, औषधि उपचारका साथै निवृत्तिभरणको पनि व्यवस्था भएको बताइन्छ । दोस्रो विश्वयुद्धमा आमाबाबु गुमाएका बालबालिकाको लागि अस्ट्रियाका नागरिक डा. हर्मन माइनरले स्थापना गरेको एसओएस बालग्राम अहिले विश्वका धेरै देशमा छन् ।

Translate »