गजल संग्रह ‘लोभको भाँडो’ बजारमा

स्काई न्यूज/ फागुन १०, सुर्खेत ।
सुर्खेतका चर्चित साहित्य तथा गजलकार रगवीर विश्वकर्मा ( विनय ) को गजल कृति ‘लोभको भाँडो’ बजारमा आएको छ । गजल कृति लोभको भाँडाले हाम्रो समाजमा रहेका विविध जात–जाति, भाषा, संस्कृति, कला, साहित्य, रितिरिवाज, चालचलन आदीका बारेमा जानकारी दिने प्रयास गरेको छ । मानिस एउटा लोभी प्राणी हो । लोभ सबैमा हुन्छ । त्यसै अनुसार सबैले आ–आफ्नो पेशा व्यवसाय सञ्चालन गरेका हुन्छन् । तर, राजनीति भनेको व्यक्तिगत बिषय होइन । त्यो त राष्ट्रिय र सामाजिक स्वार्थसँग जोडिएको हुन्छ । जस्तै मैनबत्ति आफु जलेर पनि अरुलाई उज्यालो दिएको हुन्छ । तर, आज देशमा राजनीतिलाई कमाउने भाँडोको रुपमा प्रयोग गरिएको छ । त्यस्ले समाजमा घुसपिस, कमिसन, भ्रष्टाचार, कालोबजारी, महंगी एवं आपसी द्वन्द्व लगायत बढ्दै गईरहेका छन् । त्यस्ले समाज विकासमा समेत बाधा पु¥याइ रहेको छ । विनयको गजल संग्रह ‘लोभको भाँडोको’ मुख्य उद्देश्य पनि शुद्ध मनोरञ्जनका साथसाथै राजनीतिमा रहेको व्यक्तिगत लोभको भाँडोलाई घनरुपी गजलका शेर मार्फत लोभबाट मुक्त गर्ने प्रयास गरिएको छ ।

गजल मार्फत सामूहिक तथा राष्ट्रिय स्वार्थको भाँडो निर्माण गर्ने प्रयास गरिएको छ । त्यस्तै व्यक्तिगत लोभ, लालच, विकृति, विसंगतिले भरिएको पूँजीवादी व्यवस्थाका बारेमा कटाक्ष गरिएको छ । त्यसको ठाउँमा समानतामा आधारित सामूहिक स्वार्थका लागि विकास, शान्ति, समृद्धि गर्न सक्ने समाजवादी व्यवस्था निर्माणमा जोड दिईएको छ । विनयले आफ्ना गजल मार्फत राजनीतिक नेता एवं कार्यकर्तालाई व्यक्तिगत लोभ लालच भन्दा माथि उठेर समाजमुक्तिका लागि लाग्नु सुझाएका छन् । यसैवीच मंगलबार हिमाली पुस्तकालय वीरेन्द्रनगरमा युद्धप्रसाद मिश्रको २९ औं स्मृति दिवस तथा प्रगतिशील लेखक संघ सुर्खेतको १८९ औं साहित्य यात्रा कार्यक्रममा गलजकार विनयको कृति ‘लोभको भाँडो’ गजलसंग्रहको विमोचन गरिएको थियो । कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य डाक्टर दिपक गाौतम एवं प्रगतिशील लेखक संघ सुर्खेतका कार्यवाहक अध्यक्ष जागेश्वर नेपालले उक्त कृतिको संयुक्तरुपमा विमोचन गरेका हुन् । एक सय १ वटा गजल समावेश रहेको उक्त कृतिमाथि सुर्खेत क्याम्पस (शिक्षा) का उपप्राध्यापक एवं प्रगतिवादी समालोचक बलभद्र भारतीले गजलकार विनयको व्यक्तित्व एवं कृतित्व माथि प्रकाश पारे । उनले विनयका गजलमा क्रान्तिकारी भाव, गहन चिन्तन, समाज परिवर्तनको लक्ष्य एवं त्यसका निम्ति राजनीतिक पहलकदमी, अन्याय, अत्याचारको विरोध, आमूल परिवर्तनको सन्देश प्रवाह गर्न खोजेको धारणा राखे । त्यस्तै अर्का वक्ता कर्णाली साहित्य समाज सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारीले गजलमाथि समीक्षा गर्दै उत्कृष्ट भाव एवं कलात्मकताले युक्त रहेको अभिव्यक्ति दिए । त्यस्तै प्रलेस सुर्खेतका कावा अध्यक्ष नेपालले विनयका सम्पूर्ण गजलहरुमा क्रान्तिकारीपन झल्किएको जिकिर गरे । विनयका गजलहरु एक पटक सबैले पढेर प्रेरणा लिनुपर्ने भन्दै गजलकार मिश्रको सच्चा अनुयायी रहेको उनको भनाइ थियो ।

Translate »