११ वर्षदेखि गुटु स्वास्थ्य चौकी भवन निर्माण अलपत्र

ठेकेदार–कर्मचारी मिलेमतो

स्काई न्यूज /फागुन ८, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र छ । एक वर्ष भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भवन ११ वर्ष पुग्नै लाग्दा समेत सम्पन्न हुन सकेको छैन् । ठेकेदार र कर्मचारीको मिलेमतोमा कमसल निर्माण सामाग्री प्रयोग गरि (फाउण्डेशन ट्राईपिङ्ग) नगरि भवन निर्माण गरेको उजुरी परेपछि निर्माण कार्य अलपत्र परेको हो । स्वास्थ्य चौकी भवन निर्माणका लागि आर्थिक वर्ष २०६६/०६७ मा मैनाचुली/सुरुची जेवीले करिब साढे १४ करोड लागतमा सम्झौता गरेको थियो । सम्झौतापछि पटक–पटक म्याद थप गर्दे आईरहेको मैनाचुली/सुरुची जेवीले कर्मचारीको मिलेमतोमा कमसल निर्माण सामाग्री प्रयोग गरि भवन निर्माण अलपत्र पारेको स्थानीय बासिन्दा बताउँछन् । निर्माण सम्पन्न नहुँदै साविकको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भुक्तानी दिएको प्रमाणका आधारमा अख्तियारले तत्कालिन कार्यालय प्रमुख, लेखापाल र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । हाल उक्त मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको संघीय आयोजना कार्यान्वयन ईकाइ सुर्खेतले बताएको छ ।

आयोजना कार्यालयका सूचना अधिकारी रामकृष्ण आचार्यले गुटु स्वास्थ्य चौकी भवन निर्माणमा अनियमियतता भएको उजुरी सर्वोच्चमा विचाराधिन रहेकाले तत्काल निर्माण प्रक्रिया शुरु गर्न नसकिने जनाए । उनले भने, ‘सर्वोच्चबाट फैसला हुने वित्तिकै निर्माण कार्य शुरु हुनेछ । अदालतको आदेश विना विवादास्पद भवनमा कुनै पनि प्रकारको काम शुरु गर्न मिल्दैन ।’ भवन निर्माण पुरा नहुँदा स्वास्थ्य चौकी एउटा कोठा बाटै सञ्चालन भैरहेको छ । औषधि उपचारको अभावमा वर्षेनी मातृ–शिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो । सोही अनुरुप साविकको डिभिजन कार्यालयले गुटुमा स्वास्थ्य चौकीको लागि भवन निर्माणको काम थालेको हो । तर, ठेकेदार र कर्मचारीको बेइमानीले समयमै भवन निर्माण नहुँदा गुटुका महिलाहरु असुरक्षित सुत्केरी हुन बाध्य छन् । साविकको भवन डिभिजन कार्यालयले निर्माण गर्ने भवनको प्रभावकारी अनुगमन नगर्दा, खटिएका प्राविधिकले ठेकेदारसंग अनुचित स्वार्थ सम्बन्ध राख्दा निर्माणमा लापरबाही भएको स्थानीय समाजसेवी काशीराम देवकोटा  बताउँछन् ।

निर्माण व्यवसायीको लापरवाहीले कर्णालीका दर्जनौं विकास निर्माण योजनाहरु अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्ने प्रवृत्तिका कारण विकास निर्माणका योजना अलपत्र परेका हुन् । अलपत्र भवन मध्ये धेरैजसो स्वास्थ्य संस्थाका भवन १० वर्ष बढी समयदेखि अधुरा छन् । कर्णालीमा कमसल सामग्री प्रयोग गरी अनियमितता हुने कार्यले अधिकांस सरकारी भवनहरु अलपत्र परेका हुन् । संघीय आयोजना कार्यान्वयन इकाईले निर्माणाधीन भवनको अनुगमन तथा अन्य हेरचाहको काम नगर्दा थप समस्या भएको छ । भवन निर्माण अलपत्र परेपछि विभिन्न स्वास्थ्य सेवाहरुको व्यवस्थापनमा निकै कठिनाइ भएको स्वास्थ्य संस्थाका प्रमुखहरु बताउँदै आएका छन् ।

Translate »