सुर्खेतमा कर्णाली उत्सव हुँदै

स्काई न्यूज /फागुन ७, सुर्खेत ।
फागुन १९ देखि २१ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनले विभिन्न व्यक्ति तथा निकायसंग सहकार्य गरी उक्त उत्सवको आयोजना गर्न लागेको हो । बौद्धिक बहस हुने यस्तो कार्यक्रम कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको आयोजकले बताएका छन् । उत्सवमा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रममा साहित्यका अलावा आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुनेछ । ‘कुडा कर्णालीका’ मुख्य नारा रहेको उक्त उत्सवले वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्य लिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए । उनले छलफलमा कर्णालीका सम्भावना तथा गौरव गर्ने लायक पहिचानका विषयवस्तु समेटिने उत्सव तयारी भएको जनाए ।

उनका अनुसार कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुनेछ । उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताकारुपमा आमन्त्रित गरिने छ । वक्ता र दर्शक सहभागीहरुबीच हुने उक्त अन्तरक्रियाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै अबको बाटो देखाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएका छन् । उत्सवमा बौद्धिक बहसका साथै कविता तथा गजल बाचन समेत राखिएको छ ।
गाउँगाउँमा सिंहदरवार पुग्यो या पुगेन ?
उत्सवको पहिलो दिन ‘सरकारका तीन तह ः बगाउन्या कर्णालीका बह’ शीर्षकको शत्र रहनेछ । जसमा संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरुबीच बहस हुनेछ । उक्त शत्रमा संघीय तहहरु बीचको आपसी सम्बन्ध, गाँउगाँउमा सिंहदरवार पुग्यो वा पुगेन ? तीन तहका सरकारबीच स्रोत‐साधनको बाँडफाँट तथा संघीयता र समृद्धि लगायतका विषयवस्तु माथि विमर्श हुने आयोजकको भनाइ छ । खस सभ्यताको बिरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्न लायक विषयमाथि बहस गर्न ‘खसका खासखुस’ शत्र निर्माण गरिएको छ । उक्त शत्रमा खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद रमानन्द आचार्य, डा. विपिन अधिकारी लगायतको सहभागिता रहनेछ । संस्कार र समानता नामक शत्रमा विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयबस्तु माथि बहस हुनेछ ।


काला पहाडका तोडा
कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्था माथि विमर्श गर्न काला पहाडका तोडा नामक शत्र तय गरिएको छ । उक्त सेसनमा युवा तथा उद्यमशीलताका जानकारहरुले बहस गर्नेछन् ।
कर्णाली क्यानाम घुमेर हेर्दा
कर्णाली किन घुम्ने ? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ नामक शत्र निर्माण गरिएको आयोजकले बताएका छन् । उक्त शत्रमा फोटो पत्रकार भरतबन्धु थापा, मोहन मैनाली लगायतले बहस गर्नेछन् ।
मुख्य माण्ठ ; मूल कुडा
कार्यक्रमको दोस्रो दिन पश्चिम नेपालका तीन प्रदेशका सरकारी प्रतिनिधिहरु बीच बहस हुनेछ । कर्णाली आसपासका सूदुरपश्चिम र प्रदेश नं. ५ का मुख्यमन्त्री वा मन्त्रीहरु बीच अन्तरप्रदेश सम्बन्धमा बहस गर्ने तयारी रहेको आयोजकको भनाइ छ । पत्रकार निर्मला शर्माले सञ्चालन गर्ने उक्त छलफलमा तीन प्रदेश बीचको भू‐राजनीतिक सम्बन्ध, विकास अन्तरसम्बन्ध, सहकार्य, साझा समस्या र समाधान लगायतका विषयमा बहस हुनेछ । उत्सवमा सिमान्तकृत समुदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँचबारे छलफल हुनेछ । सिमान्त स्वर नामक उक्त शत्रमा डा. शिवमाया तुम्बाहाङ्फे, मोहमदी सिद्धिकी, दुर्गा शोब र चन्द्रकिशोर झाले बहस गर्नेछन् ।
दबाई र देउता भोक र भकारी
कर्णालीको स्वास्थ्य र खाद्यान्नलाई समेटेर निर्माण गरिएको ‘दबाई र देउता भोक र भकारी’ शत्रमा लेखक तथा जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल बीच बहस हुने आयोजकको भनाइ छ । नेपाली साहित्यमा कर्णालीको स्थान, कर्णालीबारे लेखिएका कथा, साहित्यमा कर्णालीका विम्ब लगायतका विषयमा पनि बहस हुने तय भएको छ । जसमा कर्णालीका साहित्यकार श्यामल, बुद्धिसागरलगायतले बहस गर्नेछन् ।
कर्णालीको ११ औं जिल्ला !
कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर कर्णाली उत्सवमा कर्णालीको एघारौं जिल्लामाथि बहस हुनेछ । आखिर कुन हो त ११ औं जिल्ला ? उक्त शत्रमा नेपालकै एकमात्र घुमन्ते जाति राउटे समूदायबारे छलफल गरिनेछ । कुनै निश्चित क्षेत्रमा बसोबास नगर्ने राउटेको व्यवस्थापन कर्णाली प्रदेशकै महत्वपूर्ण विषय हो । शत्रमा लोपोन्मुख राउटे जातिको अवस्था, जीवनशैली, सामाजिक रुपान्तरण, राज्यको दायित्व लगायतका विषय माथि बहस हुनेछ । उत्सवमा प्रदेशको विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर प्रश्न किन गर्ने ? भन्ने शत्रमा निर्माण गरिएको छ । प्रदेशको अर्थतन्त्रका मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी भित्र्याउन सकिन्छ ? जस्ता विषयले पनि उत्सवमा स्थान पाउने छन् ।

Translate »