मेहलकुनाको एमके पानी उद्योग सिल

स्काई न्यूज/ फागुन ६, सुर्खेत ।
गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले मंगलबार गुर्भाकोटको मेहलकुनामा रहेको एमके प्रशोधित पानी उद्योगमा सिलबन्दी गरेको हो । मानव स्वास्थ्यलाई अति नै आवश्यक पर्ने पानी उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । अनुगमनका क्रममा पानी उद्योगले लागु गर्नुपर्ने न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाईएकाले सिलबन्दी गर्नु परेको खाद्य निरीक्षक भेषबहाुदर थापाले जानकारी दिए । उनले स्वच्छ पिउने पानीको निर्देशिका र मापदण्डअनुसार नै विक्री वितरण गर्नुपर्ने नियम भएपनि उक्त पानी उद्योगले कायान्वयन नगरेको पाईएको जनाए ।

‘निर्देशिकाले तोकेअनुसारको फुड ग्रेट क्वालिटीको स्टिलको पाइप नलगाएको यूबी स्टेबलाइजर र ओजोन ओस्मोसिस नचलेको, अटोमेटिक फिलिङ सिस्टम नभएको पाइयो,’ थापाले भने, ‘पानी उद्योगले उत्पादन गरेको पानीको नमुना संकलन गरेको र परीक्षणपछि आएको परिणामको आधारमा थप कारबाहीका लागि सिफारिस गछौं ।’ स्वच्छ पिउने पानीसम्बन्धी निर्देशिका र ऐनबमोजिम मापदण्ड नभएका, सरसफाइ नगरिएका, खुला रुपमा सञ्चालन भएका, अनुज्ञापत्र नविकरण नभएका र बाह्य वातावरण सुहाउँदो नभएकाले तत्कालका लागि सिलबन्दी गरिएको थापाले बताए ।

‘मानव स्वास्थ्यसँग खेलबाड हुनेगरी सञ्चालन गरिने कुनैपनि खाद्य पदार्थ सम्बन्धी उद्योग तथा व्यवसायलाई कुनै पनि बहानामा छुट दिन मिल्दैन,’ थापाले भने । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका गत वर्ष चैत २६ गतेबाट लागु गरिएको छ । उक्त निर्देशिका अनुसारको मापदण्ड पुरा नगरेका कुनै पनि पानी उद्योग चल्न नदिनेगरी अनुगमनमा कडाइ गरिएको छ । निर्देशिकाले पानी उत्पादनमा खटिने कर्मचारीको पोशाक, उपकरण तथा पानी प्रशोधन गर्ने सम्पूर्ण मेशिनरीको गुणस्तर सम्बन्धी निर्देश गरेको छ । थापाका अनुसार पिउने पानी उद्योगको पर्खालमा ५ फिटसम्म मार्बल टायल लगाउनुपर्ने, पानी भर्ने प्लान्ट र गोदम घर छुट्टाछुट्टै हुनुपर्ने, फुड ग्रेड गुणस्तरको स्टिलको पाइप मात्रै उद्योगमा लगाउनुपर्ने यूबी स्टेबलाइजर र ओजोन ओस्मोसिस लगाउनुपर्नेलगायतको सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तर, उक्त पानी उद्योगले निर्देशिका अनुसार कायान्वयन गरेको पाईएको थिएन । उनले पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ अनुसारको मापदण्ड पूरा गर्न निर्देशन दिए अनुसार मापदण्ड पुरा गरेपछि उद्योग सञ्चालन गर्न दिइने जनाए ।

Translate »