‘सरकार दलालको घेराबन्दीमा’

स्काई न्यूज/ फागुन ४, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी भित्र अवसरवादीहरुलाई कुनै स्थान नरहेको बताएका छन् । कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा सपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टी भित्र कुनै स्थान नरहने स्पष्ट पारेका हुन् । ‘पार्टीका राम्रा कामको प्रचारसँगै गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार हो । जनताबाट हुने आलोचना नै हाम्रो ऊर्जा हो,’ उनले भने, ‘सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको छ । छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई म आग्रह गर्दछु ।’ केन्द्रले कर्णालीको आवाज कम सुने पनि राज्यले कर्णालीमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए । ‘दुई वर्षदेखि कर्णालीमा संघीय सरकारको बजेट न्यून आएको छ,’ उनले भने, ‘लगानी अभावमै कर्णालीको विकास रोकिएको छ ।’ राज्यले कर्णालीलाई हेला गर्दै आईरहेकाले विकासका लागि पत्रकारिता मार्फत आवाज बुलन्द बनाउन पत्रकारलाई उनले आग्रह गरे ।

Translate »