चौकुनेका बहुमूल्य जडीबुटी खेर जाँदै

जडिबुटी विकासमा सरकार उदासिन

स्काई न्यूज/ फागुन १, सुर्खेत ।
पश्चिम सुर्खेतका लेकाली डाँडाहरुमा पाईने बहुमूल्य जडीबुटी संरक्षण तथा उपयोग नहुँदा खेर गईरहेका छन । जैविक विविधताले भरीपूर्ण चौकुने पहाड आसपासका क्षेत्रमा पाईने दुर्लभ जडीबुटीहरुको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहूँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो । ‘यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीको बारेमा अनभिज्ञ छन् । सरकारी स्तरबाट अहिलेसम्म कुनै अध्ययन, अनुसन्धान हुन सकेको छैन,’ गुटुका समाजसेवी काशीराम देवकोटाले भने, ‘खोज अनुसन्धानको अभावमा यहाँको हजारौं हेक्टरमा फैलिएको बहुमूल्य जडीबुटी गाई, भैसी र बाख्राको चरन बन्न पुगेको छ ।’ उनले आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी प्रसस्त भएपनि राज्यको ध्यान नपुग्दा खेर गईरहेको जनाए । उनका अनुसार यहाँको राष्ट्रिय तथा सामुदायिक वन भित्र पाईने जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सरकार सँग माग गरेपनि सुनुवाई भएको छैन् । ‘वन सम्पदाको बारेमा आजसम्म सरकारी स्तरबाट खोज तथा अनुसंधान नहूँदा यहाँका बहुमूल्य जडीबुटी छाडा गाई–भैसीको आहार बनेको छ,’ श्री बन्डाली सामुदायक वन उपभोक्ता समितिका सचिव कमल जिसीले भने, ‘चौकुने घुम्न आउने अधिकांस विदेशी पर्यटकले जैविक विविधताले भरीपूर्ण दुर्लभ बहुमूल्य जडीबुटीको भण्डारलाई भगवानको सुन्दर उपहारको संज्ञा दिने गरेका छन् ।’ उनले समुन्द्रसतहबाट ४ सय देखि १ हजार ७ सय २७ मिटर उँचाईको उक्त जंगलको क्षेत्रफल करिव ५ हजार ५ सय हेक्टर रहेको जनाए । उनका अनुसार चौकुनेका लेकाली क्षेत्रमा विभिन्न जातका वनस्पति एवं वन्यजन्तु पाईन्छन् । चौकुनेमा सबैभन्दा बढी पाईने वनस्पति टिमुर र काउलो हो । यसबाहेक तेजपत्ता, दालचीनि, समयो, जटामसी, सुनाखरी, विषजरा, सतुवा, सुनगाभा, भुतले, कुटकी, बोजो, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, उकु डाईना, सतुवा, कुरिलो, पाखनबेत, वनलसुन, सिलाजीतलगायत बहुमूल्य जडिबुटी पाईने गरेको स्थानीय बासिन्दा बताउँछन् । सुनाखरी सिटामोल लगायतका औषधी उत्पादन गर्ने अत्यावश्यक जडीबुटी हो । ‘गाउँले बिमारी पर्दा ती जडीबुटीहरुको कुनै न कुनैरुपमा प्रयोग गदै आएको भएपनि यसको व्यवसायिक उपयोग हुन सकेको छैन् । टाउको दुख्ने, ज्वारो आउने, पेट दुख्ने, तथा रक्तचापका बिमारीका लागि स्थानीयबासीले यहाँका जडीबुटीको प्रयोग गदै आएका,’ गुटुका पूर्व प्रधानपञ्च समेत रहेका समाजसेवी देवबहादुर थापाले भने, ‘चौकुनेका बहुमूल्य जडीबुटीको उपयोग हुन नसक्दा वर्षेनी करोडौं आम्दानी खेर गईरहेको छ । हामी प्रकृतिको निशुल्क अनुपम उपहार औषधी छोडेर भारतबाट आयात हुने सिटामोल खाईरहेका छौं ।’ उनले चौकुनेका बहुमूल्य जडीबुटी खाएका कारण मानिसको तुलनामा यहाँका चौपाया निरोगी रहेको दावी गरे । उनका अनुसार साधनस्रोत तथा ज्ञान अभावमा वर्षेनी करोडौं मूल्यका जडीबुटी सदुपयोग हुन नसकेको खेर गईरहेका छन् ।


यता डिभिजन वन कार्यालयका अनुसार नेपालमा पाइने २ सय १८ प्रजातिका जडीबुटीमध्ये सुर्खेतका जंगलमा १ सय ५७ प्रजाति पाइन्छन् । लगानीकर्ताको अभावमा जङ्गलमा पाइने जडीबुटीको व्यावसायिक संकलन र विक्री हुन नसक्दा राज्यको आयस्रोत गुमेको सहायक वन अधिकृत टेकबहादुर रावलले बताए । जडीबुटीमा सम्भावना भएपनि विभिन्न कारणले लगानीकर्ताहरु जडीबुुटीको व्यापारतर्फ आकर्षित हुन नसकेको सुर्खेत उद्योग वाणिज्य संघको भनाइ छ । संघका अनुसार जडीबुुटीको असन्तुलित बजार, व्यावसायिक सुरक्षा, पूर्वाधार, जडीबुटीको परिणामसम्बन्धी तथ्याङ्क र स्थानीयवासीमा चेतनाको अभावजस्ता समस्या छन् । त्यसैले, जडीबुटीलाई आयस्रोतको रुपमा विकास गर्न केन्द्रीयस्तरबाट स्पष्ट नीति बनाई सम्भाव्यता अध्ययन गर्नुपर्ने संघका महासचिव लक्ष्मण कँडेल बताउँछन् । अनि मात्र लगानीकर्ता आकर्षित हुने र राज्य तथा स्थानीय बासिन्दालाई फाइदा पुग्ने उनको भनाइ छ ।


सरकार उदासिन
जडिबुटी व्यवसायको विकास तथा बिस्तारमा सरकारनै उदासिन रहेको व्यवसायी बताउँछन् । जडिबुटी संरक्षणमा सरकारी नीति नै सबैभन्दा बढी बाधक रहेकाले सरकार समस्या समाधानप्रति उदासीन रहेको उनीहरुको आरोप छ । ‘जिल्लै पिच्छे अवरोध सिर्जना गरेर व्यवसायीलाई निरुत्साहन गरिने काम निरन्तर भैरहेको छ । बोरामा लैजान सजिलो, बोतलमा गाह्रो भईरहेको छ । जडिबुटीले उद्योगको आवश्यकता बोध गराएपनि सहयोग पाएका छैनौं,’ जडिबुटी व्यवसायी मोहम्मद याकुब अन्सारीले भने, ‘राजश्व तिरेर पनि स्वतन्त्र रुपले कारोबार गर्न पाइएको छैन् । विभिन्न नीतिगत अप्ठयाराहरुकै कारण ब्यबसाय दिनप्रतिदिन धरासायी बन्दै गएको छ । हाम्रा लागि सरकार कहा छ ?’ भारतले आफुहरुलाई स्थानीय ठेकेदार सरह व्यवहार गर्दा पनि नेपाल सरकारले हाम्रा समस्या पटक्कै सुनदैन ।’ उनले विभिन्न नीतिगत अप्ठयाराहरुकै कारण ब्यबसाय दिनप्रतिदिन धरासायी बन्दै गएको जनाए । राज्यले जडिबुटी प्रतिको परम्परागत सोंचमा नीतिगत सुधार नगरेसम्म यसको व्यवसायिक अवस्थामा सुधार नहुने अर्का जडिबुटी व्यवसायी गोविन्द घिमिरले बताए । ‘नीतिगत अप्ठ्याराका कारण परम्परागत ढर्राले व्यवसाय धान्न आफुहरु बाध्य भएका छौं,’ उनले भने, ‘जडिबुटीले नेपाललाई विश्वमा चिनाउने कार्य गर्नुका साथै विदेशी मुद्रा भित्र्याउन सफल भएपनि व्यवसाय प्रबद्र्धनका लागि सरकारले पटक्कै चासो दिएको छैन् ।’ नेपाल जडिबुटी संघ सुर्खेतका अध्यक्ष हेमराज अधिकारीले कर्णालीको जडिबुटी विकास तथा बिस्तारका लागि ब्यबसायीको एक्कल प्रयासले मात्र समृद्धि आउन नसक्ने बताए ।


दोहोरो कर नीतिले ब्यबसायी मारमा
जडिबुटी निर्यातमा भारतको दादागिरी खेप्दै आएका नेपाली जडिबुटी ब्यवसायीले पछिल्लो समय स्थानीय, प्रदेश एवं केन्द्र सरकारलाई कर तिर्नु परेपछि मारमा पर्ने गरेको बताएका छन् । थरीथरीका कर तिर्नुपरेका कारण करोडौंको जडिबुटी व्यवसाय मारमा परेको ब्यवसायी बताउँछन् । विभिन्न स्थानीय सरकारले कर लागु पछि निर्यात खर्च बढेकोले त्यसको मार जडिबुटी किसानहरुलाई समेत परेको व्यवसायीको भनाई छ । कर्णाली प्रदेशका पहाडी जिल्लाका किसानले उत्पादन गरेका जडिबुटी नेपालगन्जका व्यवसायीले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । करहरु थपिँदा जडिबुटी किसानबाट मुल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायी मोहम्मद याकुब अन्सारीको भनाई छ । ठूला व्यवसायी घुस दिएर निकासा गरेपनि साना व्यवसाय पलायन हुनुपर्ने अवस्था आएको उनी बताउँछन । नेपालगन्जहुँदै भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुन्छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गरेको छ ।

Translate »