‘कर्णालीमा विचौलियाले भ्रष्टाचार बढाए’

स्काई न्यूज/ माघ २८, सुर्खेत ।
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार नेपाली जनताको साझा शत्रु भएकाले जरैदेखि उखेल्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कलौनीले आयोगलाई त्यसतर्फ समयमै सजग हुन आग्रह गर्दे दण्डात्मकतर्फ जान नपर्ने परिस्थितिको सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘समग्र देशको आंकडा हेर्दा कर्णाली प्रदेशमा अख्तियार दुरुपयोगको अवस्था अन्य प्रदेशको तुलनामा कम भएको पाईयो थियो,’ उनले भने, ‘कर्णाली प्रदेशको भौगालिक विकटता, जनचेतनाको कमी र पहुँचको कमीले गर्दा पनि आयोगमा उजुरी दर्ता कम भएको हुनसक्छ । सुशासन स्थापनाका लागि भ्रष्टाचार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै कर्णालीमा थप सचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।’ उनले अख्तियारसँगै भ्रष्टाचार विरुद्धको काम कारबाहीमा तीन वटै तहका सरकारले विशेष कौशल देखाउनु पर्नेमा जोड दिए । उनका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक छ ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियत र निष्ठा सफा नभएसम्म भ्रष्टाचार नियन्त्रण अभियान एक चुनौतीका रुपमा रहेको बताए । उनले आयोगलाई प्रविधिमैत्री बनाउँदै भ्रष्टाचार उल्मूलनमा सामूहिक प्रतिवद्धता आवश्यक रहेको औल्याए । ‘भ्रष्टाचार साझा मुद्दा भएकाले विद्यालयस्तरबाटै पाठ्यक्रममा समावेश गरि भ्रष्टाचारजन्य गतिविधिलाई निरुत्साहित बनाउँनु पर्छ,’ उनले भने, ‘सुशासन स्थापना विना समृद्धि हासिल गर्न नसकिने भएकाले निर्णायक तहबाटै भ्रष्टाचार नियन्त्रण आवश्यक छ ।’ उनले आयोगलाई आवश्यक स्रोत साधन बढाउँदै सक्रिय बनाएर संस्थागत भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न आवश्यक रहेको बताए । उनका अनुसार अहिलेपनि पहुँचवालाकै पहलमा भ्रष्टाचारजन्य कामहरु हुने गरेका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भ्रष्टाचारजन्य कार्यमा दलाली प्रवृत्ति हावी हुँदै गएकाले विचौलियालाई निषेध गर्न आवश्यक रहेको औल्याईन् । ‘कर्णाली प्रदेशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको छ,’ उनले भनिन्, ‘भ्रष्टाचार सम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन पर्छ ।’

त्यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सरकारी कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर काम नगर्ने परिपाटी मौलाउँदै गएको बताए उनले अख्तियारलाई बलियो बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा आयोगको प्रदेश कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेलले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण कार्य आयोगको मात्र नभई सरकारको समेत रहेको बताए । उनले आयोगको रणनीति बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र संस्थागत सुदृढीकरणका कार्य सञ्चालन गरी भ्रष्टाचार नियन्त्रका कार्यअघि बढाइको जनाए । उनका अनुसार आयोगको सुर्खेत कार्यालयमा ९६३ उजुरी परेका मध्ये ५५२ उजुरी फछर्यौट गरि २८ वटा विस्तृत उजुरी केन्द्रमा बुझाएको छ ।

Translate »