‘चौकुनेमा न्यायका लागि कोही रुनु पर्दैन्’

नन्दराम खनाल /माघ २४, (चौकुने) सुर्खेत ।
जिल्ला अदालत सुर्खेतका न्यायाधिश डाक्टर राजेन्द्रप्रसाद आचार्यले विचाराधिन मुद्दाहरु अब फैसला हुन धेरै समय नलाग्ने बताएका छन । शुक्रबार चौकुने गाउँपालिकाको गुटुमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै न्यायाधिस आचार्यले ‘फास्ट ट्¥याक’ मार्फत विचाराधिन मुद्दालाई अधिकतम् छिटो फैसला गर्ने रणनीति अनुसार अदालत अघि बढेको जानकारी दिए । सुर्खेत जिल्लाका नौ ओटै स्थानीय तह मध्ये चौकुने गाउँपालिकाकोमा रहेको न्यायपालिकाले के, कस्ता कामहरु गरिरहेको छ, कस्ता मुद्दा आउछन्, गाउँपालिकाले कसरी मेलमिलापको काम गरिरहेको छ भन्ने बारेमा बुझ्न चौकुनेको गुटुमा पुगेका न्यायाधिश आचार्यले जिल्ला अदालत अब पहिलाको जस्तो नभएको जिकिर गरे । ‘जिल्ला अदालतमा मुद्दा दर्ता भएको एक वर्ष भित्र नै फैसला गर्ने गरि काम भैरहेको छ,’ उनले भने, ‘अदालतबाट छिटो छरितो रुपमा न्याय प्रदान गरिने भएकाले अदालत आउँदा कोही कसै तेस्रो व्यक्तिको सहयोग नचाहिने हुँदा न्याय पाउनेमा विश्वस्त रहनुहोस् । तपाईको समस्यामा अदालतले नै सहयोग गर्ने छ ।’ उनले अन्याय परेका व्यक्तिहरुलाई प्रभावकारी रुपमा समयमै अदालतले न्याय प्रदान गर्ने जनाए ।

कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गाउँपालिकामा न्यायिक व्यवस्थापनका लागि नीतिगत एवं प्रशासनिक व्यवस्था प्रभावकारी बनाईएको बताए ।

यस्तै न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष निर्मला रानामगरले चौकुनेमा न्यायको अभावमा कोही पनि रुनु नपर्ने बताईन् । उनले समितिमा आउने सबै प्रकारका उजुरी उपर छिटो, सस्तो एवं सहजरुपमा न्याय पाउने व्यवस्था मिलाईएको जनाईन् ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले स्थानीय न्यायिक समितिबाट सम्पादन गरिने कामका लागि आवश्यक आर्थिक, प्राविधिक, प्रशासनिक व्यवस्थापन गरि भरपर्दो सेवा प्रवाह व्यवस्था मिलाउने कार्यको शुरुवात गरिएको जनाए । ‘संविधानले स्थानीय तहमा न्यायिक समितिको व्यवस्थापन गरेको छ,’ उनले भने, ‘गाउँपालिका उपाध्यक्ष र उपप्रमुखको संयोजककत्वमा ३ सदस्यीय समितिले मेलमिलाप र फैसलाको माध्यमबाट न्याय प्रदान गर्ने व्यवस्था छ ।’ यसअघि जिल्ला अदालत सुर्खेतका न्यायाधिशद्वय डा. आचार्य एवं प्रलादकुमार योगीले स्थानीय न्यायिक समितिबाट सम्पादन गरिएका काम तथा गाउँपालिकाले स्थापना गरेको इजलासको अनुगमन गरेका थिए । चौकुने न्यायिक कार्य गर्नको लागि कठघरा सहितको इजलास स्थापना गरिनुका साथै सहायक स्तर पाँचौं स्तरका कर्मचारीलाई न्यायिक समितिको प्रशासनिक कार्यको जिम्मेवारी दिईएको उनीहरुलाई गाउँपालिकाले जानकारी दिएको थियो । कार्यक्रममा चौकुने गाउँपालिका–७, का वडाअध्यक्ष अमरबहादुर विसी, ८ नम्वर वडाअध्यक्ष तारकेशर सुबेदी, न्यायिक समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Translate »