निःशुल्क सेनिटरी प्याड वितरण गर्दै वीनपा

स्काई न्यूज /माघ १७, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाले महिलाका लागि निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरेको छ । नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वीरेन्द्रनगर–१६ स्थित स्वास्थ्य चौकी, सानिखेलबाट निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो । मर्यादत महिनावारी र सरसफाई बारे सचेतना फैल्याउन उक्त कार्यक्रम शुभारम्भ गरिएको उपप्रमुख मोहनमाया ढकालले बताईन् । उनले अबको दुई महिना भित्र नगरका सबै वडाहरुमा निशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम लागु गरिने जाननकारी दिइन् ।

‘महिनावारी भएका बेला पर्याप्त सरसफाई नहुँदा स्तन क्यानसर, पाठेघर क्यानसर लगायतका गम्भीर प्रकृतिका रोगहरुबाट महिलाहरु पीडित हुने गरेका छन्,’ उनले भनिन्, ‘सरकारले सामुदायिक विद्यालयमा छात्रालाई निशुल्क प्याड वितरण गरेपनि नगरका सबै वडाका महिलालाई निःशुल्क प्याड वितरण गर्ने वीनपा सम्भवतः देशकै पहिलो नगर हो ।’ उनले अभियानबाट महिलालाई महिनावारीका बेला स्वास्थ्य, सरसफाई र स्वच्छताका बारेमा समेत खुलेर कुरा गर्ने वातवरण सृजना हुने बताईन् । महिलामा हुने धेरै रोगहरुको कारण मध्ये महिनावारी सुस्तता रहेको तथ्य बाहिरिएको भन्दै उनले यो अभियानबाट छाउपडी कुप्रथा न्यूनिकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार गएको नगर सभाबाट नै नगरपालिका भित्र रहेका महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्ने निर्णय भएको थियो । महिनावारी कार्ड वितरण गरि नगरका प्रत्येक वडा स्वास्थ्य चौकी मार्फत निःशुल्क सेनिटरी प्याड वितरण गरिने उनको भनाइ थियो ।

Translate »