गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

स्काई न्यूज /माघ १०, सुर्खेत ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी वीरेन्द्रनगरमा अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले शुक्रबार ८ लाख रुपैयाँ घुस रकमका साथ गाउँपालिकाका अध्यक्ष केसीसहित चन्द्रबहादुर बस्नेतलाई रंगेहात नियन्त्रणमा लिएको हो । अख्तियारले वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा हेल्थपोष्ट नजिकबाट अध्यक्ष केसीसहित बस्नेतलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको बताएको छ ।

आयोगको सुर्खेत स्थित कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घुस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको हो । अध्यक्ष केसीले जुनिचाँदे गाउँपालिका–५, मा विभिन्न उपभोक्ता समिति मार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात रकम भुक्तानीको लागि विल पेश गरेकोमा विल भुक्तानीको लागि घुस रिश्वत माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो । पक्राउ परेका अध्यक्ष केसी र बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी सापकोटाको भनाइ छ ।

Translate »