कर्णाली विकास परिषदको बैठक शुक्रबार बस्दै

स्काई न्यूज /माघ ८, सुर्खेत ।
कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते वस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषद्को बैठक पहिलो पटक बस्न लागेको हो । परिषद् अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका बारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकायाले जानकारी दिए । कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रुपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६÷७७–२०८०÷८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरुको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ । मुख्यमन्त्री शाही अध्यक्ष रहेको प्रदेश विकास परिषद्का पदाधिकारीमा सह–अध्यक्ष आर्थिक मामिला तथा योजना मन्त्री एवं सदस्यहरुमा प्रदेश सरकारका विभागिय मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समिति अध्यक्षहरु, प्रदेश योजना आयोगका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका अध्यक्षहरु, प्रदेश सरकारद्वारा मनोनित ५ जना सदस्यहरु, प्रदेश सरकारका सचिवहरु रहने व्यवस्था गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेको विकास परिषद्मा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद् सदस्यहरुमा डा.राधिका बुढ थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसियट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीलाई सरकारले मनोनयन गरेको हो । माघ १० गत प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने बैठकको सबै तयारी पुरा भएको परिषद सदस्य समेत रहेका योजना आयोगका सदस्य रोकायले जानकारी दिए । उनका अनुसार बैठकमा परिषद्का १ शय २० जना पदाधिकारी तथा ११ जना विज्ञ एवं आमन्त्रीत सदस्यहरुको समेत सहभागिता रहने छ ।

Translate »