एमसीसी नेपालको हितमा छैनः महामन्त्री सिंह

स्काई न्यूज /माघ ७, सुर्खेत ।
नेकपा मसालका महामन्त्री एवं अर्धभूमिगत नेता मोहनविक्रम सिंहले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको पक्षमा नरहेको बताएका छन् । सञ्चार क्लव सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री सिंहले एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीति अन्तर्गत रहेकाले दक्षिण एसियामा सैन्य गतिविधि विस्तार गर्ने योजना अनुसार भएकाले त्यो नेपालको हितमा नरहेको जनाए । उनका अनुसार चीनको बढ्दो आर्थिक विस्तारलाई घेराबन्दी गर्न अमेरिकाले एमसीसी मार्फत नेपाललाई प्रलोभन दिएको हो । नेता सिंहले मुलुकमा संघीयता, गणतन्त्र र नयाँ संविधान जस्ता परिवर्तन भएपनि नयाँ जनताका समस्या समाधान नभएकाले जनवादी क्रान्ति आवश्यक रहेको बताए ।

‘देशमा अझै पनि विद्यमान अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्था छ । भ्रष्टाचार बढिराखेको छ । यी समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक छ’, सिंहले आफ्नो पार्टीको रणनीतिक लक्ष्य पनि नयाँ जनवादी क्रान्ति नै रहेको दावी गरे । उनले वर्तमान सरकारले केही राम्रा काम नगरेको भएको मुलुकमा राजनीतिक अस्थिरता पैदा भएर प्रतिगामी तत्वहरु सल्वलाउने खतरालाई न्यूनिकरण गरेकाले आफुले त्यसलाई सकारात्मक रुपमा लिएको जनाए । ‘हामी आग्रह पूर्वाग्रहबाट हेदैनौं । देशको वस्तुगत स्थिति र देशको राष्ट्रिय हितलाई हेछौं । त्यसकारण एमाले र माओवादी बीचमा एकता नभएको भए राजनीतिक अस्थिरता पैदा हुनसक्थ्यो । त्यसो हुँदा उनीहरुको सत्ता टुट्ने खतरा थियो । त्यो खतरा आजपनि एकता भंग भयो भने छँदैछ । त्यस्तो हुँदा प्रतिगामी तत्वहरुले चलखेल गर्ने मौका पाउँछन् । त्यसैले एकतालाई हामीले सकारात्मक रुपमा लिएका हौं,’ सिंहको भनाइ थियो । उनले वर्तमान सरकारले समाजवादउन्मुख समाजको कल्पना गरेपनि उनीहरुले ल्याएको बजेट, नीति तथा कार्यक्रम पुँजीवादी प्रकारको रहेको बताए । देशमा राजनीतिक अस्थिरता पैदा गरेर प्रतिगामी तत्वहरुले चलखेल गर्ने खतरा अहिले पनि रहेकाले सरकार त्यस तर्फ पनि सचेत रहन उनले आग्रह गरे ।

Translate »