सुर्खेतका अधिकांश मासु पसल मापदण्ड विपरित

अस्वस्थ्यकर मासु खान उपभोक्ता बाध्य

स्काई न्यूज/ पुस २४, सुर्खेत ।
मासु खानुहुन्छ ? अब विचार गरेर मात्र खानुहोस् । वीरेन्द्रनगरका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनमा विहीबार र्खोकेलाईन, समावेशीचोक जुम्ला रोड, गण्डकीलाईन र हटिया क्षेत्रमा सञ्चालित अधिकांस मासु पसल नियम विपरित सञ्चालनमा रहेको पाईएको हो । कर्णाली मासु पसल वीनपा–६ खोर्केलाईन, मास्की मासु पसल वीनपा–४ समावेशी टोल जुम्लारोड, भ्याली स्वच्छ मासु पसल वीनपा ३ गण्डकीलाईन, भेरी बंगुर तथा राँगा मासु पसल हटियालाईनलगायतमा अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

अधिकांश मासु पसल दर्ता बिना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरु पनि नवीकरण नगरेको, अधिकांश मासु पसल फोहर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, कुहिएको मासु विक्रीमा राखेको, मूल्यसूची नराखेको पाइएको वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उनले अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकाले केहीलाई तीन भित्र व्यवसायिक प्रमाणपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाए । अनुगमनमा वीनपाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत पौडेल, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापा, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा यामबहादुर अधिकारी, वीनपाका नगर पशु विकास अधिकृत यग्ज्ञ पाण्डे, नगर निरीक्षक टंक आचार्य, नगर प्रहरी ईन्चार्ज मिनबहादुर विष्ट, सुर्खेत उद्योग वाणिज्य संघ एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


कानून कार्यान्वयनमा समस्या
कानून कार्यान्वयनमा चरम लापरवाही हुँदा उपभोक्ताको स्वास्थ्य माथि गम्भिर खेलवाड भएको छ । विसं २०५५ मा बनेको पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा दूषित मासु किनबेच रोकिन सकेको छैन । ऐनमा भएका व्यवस्था कागजमै सीमित हुँदा उपभोक्ता अस्वस्थ मासु उपभोग गर्न बाध्य भएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य डिलबहादुर खत्रीले बताए । ‘मासुको प्रयोजनका लागि पशुपक्षीको ओसारपसार, बध र मासु पसल सञ्चालनका क्रममा सरसफाइ र सुरक्षित भण्डारणमा ध्यान दिइएको पाइँदैन,’ उनले भने, ‘सरकारी निकायको उदासीनता, समन्वयको कमी र पूर्वाधारका अभावमा अस्वस्थ मासुको उपभोग बेरोकटोक भइरहेको छ ।’ राँगो, भैंसी, खसीबोका र कुखुरा बध गर्ने स्थल फोहर र प्रदूषित छन् । केही मासु पसलले सरसफाइ गर्न र डिफ्रिजमा राखेर मासु बेच्न शुरु गरे पनि धेरैजसो पसलले सामान्य मापदण्डसमेत पूरा नगरेको वीनपाका नगर पशु विकास अधिकृत यग्ज्ञ पाण्डेले बताए । सदरमुकाम वीरेन्द्रनगरमा रहेका मासु पसल केही व्यवस्थित बन्दै गएपनि प्रायःजसो गाउँमा खोलिएका फ्रेस हाउसले सामान्य मापदण्ड पनि पालना गरेको पाइँदैन । खसीबोका र कुखुरा मासु व्यवसायीले आफूलाई अनुकूल हुने ठाउँमा असुरक्षित तरिकाले पशु बध गर्दै आएका छन् । ऐन कार्यान्वयन नभएपछि अस्वस्थ र गुणस्तरहीन मासु बिक्री गर्नेलाई कानुनी कठघरामा उभ्याउन सकिएको छैन । जिल्ला प्रशासन कार्यालय, प्रहरी र भेटनरी कार्यालयले समयसमयमा गर्ने अनुगमन पनि औपचारिकतामै सीमित हुने गरेको उपभोक्ता बताउँछन् । सरकारी निकायकै बेवास्ताका कारण मासु व्यवसायीको लापरबाही र मनोमानी बढेको उनीहरुको गुनासो छ ।


सरकारले मासुको गुणस्तर र स्वच्छता कायम राख्न मासु पसलहरुको अनुगमन गर्न जिल्ला स्थित कार्यालयलाई निर्देशन दिएको भएपनि ती कार्यालयहरुले देखावटि अनुगमन गर्दा उपभोक्ताले अस्वस्थकर मासु उपभोग गर्न बाध्य हुनु परेको हो । कर्मकाण्डी बजार अनुगमन पटक पटक गरिएपनि सदरमुकाम वीरेन्द्रनगरका अधिकांस मासु पसलको कुनै सुधार हुन सकेको छैन् । मासु पसलहरुको अनुगमन गर्दा नियम विपरित ढंगले सञ्चालन गरिएको पाईएपनि अनुगमन टोलीले चेतावनी बाहेक आवश्यक कारवाही गर्दैन । उल्टै मासु व्यवसायीलाई नै सम्झाई बुझाई हौसला दिएर हिड्ने गरेको स्थानीयको आरोप छ । अव्यवस्थित रुपमा सञ्चालन गरिएका पसलमा मासु काट्ने र मासु राखिएका स्थान फोहोरयुक्त पाइएपनि कारवाही नहुने गरेको उपभोक्ता राजु केसीले बताए । उनले मासुको उत्पादनदेखि उपभोगसम्म स्वच्छता र स्वस्थ्यतालाई सरकारले जोड दिँदै हरेक वर्ष सचेतना कार्यक्रम समेत गर्ने गरेको भएपनि व्यवहारमा त्यो प्रयोग आउन नसकेको जनाए । ‘कारवाही प्रक्रियालाई अगाडी बढाउने हो भने तुरुन्तै सुधार आउने थियो,’ स्थानीय उपभोक्ता रामराज पौडेलले भने, ‘तर अनुगमन टोलीले देखावटी अनुगमन गर्ने गर्दा उपभोक्ता माथि अन्याय भयो ।’ उनले सदरमुकाम वीरेन्द्रनगरमै मापदण्ड विपरित खुलेआम मासु पसल सञ्चालन भइरहँदा गाउँमा त झनै दयनिय अवस्था रहेको बताए ।


उपभोक्ता सचेत हुन जरुरी
मासु व्यवसायीहरु भने उपभोक्तामा समेत सजगता नआउँदा अस्वस्थकर मासुको बिक्री हुने गरेको बताउँछन् । मासु व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्ष जनकबहादुर थापाले व्यवसायीहरुको प्रयासमा स्वस्थकर मासु बिक्रीको प्रयास थालिए पनि प्रभावकारी हुन नसकेको स्वीकार्छन् । ‘मासु काटेर फ्रिजमा राख्यो उपभोक्ताले लिनै मान्दैनन,’ उनले भने, ‘मासु किन्नेले फ्रिजको मासु बासी भन्छन, बुझाउन खोज्यो भने अन्त गइहाल्छन् ।’ उनका अनुसार अनुसार वीरेन्द्रनगरमा मात्र करिब तीन सय मासु व्यवसायी छन् । ती पसलमार्फत् दिनको १५ क्वीन्टलको हाराहारीमा मासु बिक्री हुन्छ ।

Translate »