त्रिदेशीय सडक निर्माणमा ढिलाइ

चिसापानी–गुटु–मंगलसेन फाष्ट ट्¥याक

स्काई न्यूज /पुस २३, सुर्खेत ।
भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रिदेशीय सडक सञ्जाल निर्माणमा ढिलाइ भएकोमा सुर्खेतका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । भारतको तिकुनिया–कतरनियाघाट हुँदै बर्दियाको राजापुर–कैलालीको चिसापानी–गुटु–मङ्गलसेन–बाजुरा–हुम्लाको हिल्साबाट तिब्बत जोड्ने त्रिदेशीय सडक सञ्जाल निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको उनीहरुको आरोप छ । ‘अब १५ किलोमिटर सडक निर्माण भए अछामको मङ्गलसेन जोडिन्छ,’ चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, ‘मङ्गलसेन–बाजुरा–हुम्लाको हिल्सा हुँदै यो सडक चीनको तिब्बतसँग जोडिन्छ ।’ हालसम्मका त्रिदेशीय सडक सञ्जालमध्ये यो सडक सरल र छोटो दूरीको पर्ने उनले बताए ।

स्थानीयले करिब ५ दशकदेखि कैलालीको चिसापानी–गुटुु–मङ्गलसेन–बाजुरा–हुँदै हुम्लाको हिल्सा सडक विस्तारको माग गर्दै आएको चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला राना मगर बताउँछिन् । ‘अछाम सडक सञ्जालले बाजुरासँग अहिले पनि जोडिएको छ,’ उनले भनिन, ‘सुर्खेतबाट अछाम हुँदै बाजुरा र हुम्ला हुँदै यहाँको सडक तिब्बत जोडिन्छ ।’ यहाँको सडकलाई स्थानीय जनताले मात्रै नभई केन्द्रले पनि महत्वका साथ हेर्नुपर्ने उनको माग छ ।

‘कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँ–गुटुमा सडक विस्तार भएको छ,’ गुटुका समाजसेवी काशीराम देवकोटाले भने, ‘सडकलाई त्रिदेशीय सडक सञ्जाल बनाए मध्यपहाडी लोकमार्गसँग यो सडक जोडिन्छ ।’ हाल निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गले सुर्खेतलाई नछुने भन्दै जिल्लाका सरोकारवालाहरू त्रिदेशीय सडक सञ्जाल विस्तार भए मध्यपहाडी लोकमार्गमा सुर्खेत हुँदै तराईका जिल्लामा समेत जोड्न सकिने बताउँछन् ।

‘कैलाली–सुर्खेत–अछाम–बाजुरा–हुम्ला सडकले ३ देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,’ कर्णाली प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले भने, ‘मानसरोवर आएका पर्यटकलाई भेरी–कर्णालीको ¥याफ्टिङसँगै प्यूठानको स्वर्गद्वारी, मुक्तिनाथसम्मको यात्रा गराउन सकिन्छ ।’

राजनीतिक दलको एजेण्डामा परेन
सडक सामरिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिएको त्रिदेशीय चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्¥याकबारेको महत्व कुनै पनि राजनीतिक दलले बुझ्न नसकेको गुटुका समाजसेवी देवबहादुर थापा बताउँछन् । स्थानीय सरकारले २ वर्षदेखि सडक निर्माणमा तीव्रता दिएपनि सुर्खेत खण्डमा अझै ट्¥याक खोल्न बाँकी छ । चौकुने गाउँपालिकाले चालू आर्थिक वर्षमा गुटु–जङ्गलाघाट सडक निर्माणका लागि करिब ३ करोड रकम खर्च गर्ने योजना बनाएको छ ।

त्यस्तै, कैलालीको सुँगरखाल र घाटगाउँको चिप्लेमा कर्णाली नदीमाथि साढे ४ सय मिटर लामो मोटरेबल पुल निर्माण कार्य सुचारु रहेको छ । भारतीय सीमासँग जोडिएको बर्दियाको कतरनिय र कैलालीको सतीको बीच भागमा पर्ने कतरनिय नाकामा ‘सुक्खा बन्दरगाह’ बनाउनुपर्ने यसका क्षेत्रका स्थानीयको माग छ ।

सो फाष्ट ट्¥याक बारे माथिल्लो निकायबाट कुनै जानकारी नआएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । यता कर्णाली कोरिडोरलाई समेत समेट्ने गरी उक्त फाष्ट ट्¥याक निर्माण गर्दा त्रि–देशीय सडक सञ्जालको सपना छिट्टै साकार हुने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताउँछन् । घुमाउरो, जोखीमपूर्ण र बढी समयबाट बच्नका लागि सुरुङ मार्गलाई प्राथमिकता दिनुपर्ने राज्यमन्त्री रावतको भनाइ छ । उनले फाष्ट ट्¥याक निर्माणका लागि सम्बन्धित पक्षसँग निरन्तर वार्ता, मागपत्र एवं लविङ्ग भईरहेको जनाए । फाष्ट ट्¥याक निर्माणपछि सुर्खेत, अछाम, कैलाली बाजुरा, डोटी र साविका कर्णालीका ४ जिल्लाका ३० लाखभन्दा बढी जनता लाभान्वित हुने छन् ।

Translate »