कर्णालीमा नेकपा र काँग्रेस वीच प्रतिस्पर्धा

राष्ट्रियसभा निर्वाचनमा २ पदका ४ जनाको उम्मेदवारी

लक्ष्मी वि.क/ पुष २०, सुर्खेत ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । माघ ९ गते हुने निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मायाप्रसाद शर्मा र सुमित्रा विसीले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै नेपाली कांग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मायाप्रसाद शर्माले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताए । उनले आफु निर्वाचिचत भएपछि कर्णालीको विकासका लागि आवाज उठाई रहने जिकिर गरे । त्यस्तै अर्का उम्मेदवार सुमित्रा विसीले विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताईन् । नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पाठकले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानूनको सुधारमा आफ्नो भूमिका रहने बताए । उनले सरकार अधिनायकवादी तरिकाले अगाडी बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्ष विहिन बनाउने बदनियत राखेकाले सशक्त आवाज उठाउने बताए । त्यस्तै अर्का उम्मेदवार गणेशकुमारी बस्नेतले गलत खालका नीतिहरु सच्याउन आफुले भुमिका खेल्ने बताईन् ।


तामझामका साथ मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट २ सीटका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार पार्टीको झण्डा तथा कार्यकर्ताको दल बलका साथ निर्वाचन आफैंले जित्ने दावी गर्दै तामझामका साथ निर्वाचन कार्यालय पुगेका थिए । सबैभन्दा पहिले नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस पछि नेकपाका उम्मेदवार उच्च मनोवलका साथ मनोनयन दर्ता गर्न पुगेका थिए । नेकपा उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा बिसीले मुस्कुराउँदै उम्मेदवारी दर्ता गरे । यद्यपि ! मतको आधारमा नेकपाको जीत निश्चित जस्तै भएपनि काँग्रेस उम्मेदवार उत्साहका साथ मनोनयनमा सामेल भएका थिए । काँग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । पाठकको प्रस्तावकमा प्रदेशसभा सदस्य यज्ञबहादुर विसी तथा समर्थकमा गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन थिए । बस्नेतको समर्थकमा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा र प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा थिईन् । यस्तै नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसीले पनि उम्मेदवारी दर्ता गरएका छन् । विसीको सर्मथकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र प्रस्तावकमा प्रदेशसभा सदस्य देवी ओली छन् । शर्माको सर्मथकमा प्रदेशसभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेशसभा सदस्य करबिर शाही छन् ।


कर्णाली प्रदेशको गणित
कर्णाली प्रदेशमा जम्मा १ सय ९८ जना मतदाता छन् । राष्ट्रियसभाको निर्वाचनमा ७९ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी १ सय ५८ जना र प्रदेशसभाका ४० जना सांसदले मतदान गर्नेछन् । स्थानीय तहका मतदाताको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताए । ३३ प्रदेश सभा सदस्य तथा ७९ मा ५३ स्थानीय तह जितेको नेकपा जीत सुनिश्चित हुनेमा विश्वस्त देखिन्छ ।


देशैभरी ४५ जना उम्मेदवार
राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ । सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन् । कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई÷दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । ६९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिने मध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

Translate »