कर्मचारीका लागि अनिवार्य वचत कार्यक्रम

स्काई न्यूज/ पुस १८, सुर्खेत ।
कर्मचारी यूनियन बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीलाई अनिवार्य वचत गर्ने कार्यक्रम अघि सारेको छ । वर्षेनी बढ्दो आर्थिक महँगीसँगै न्यून आयस्रोतका कारण कर्मचारीलाई बचत गर्न समस्या रहेकाले सानो रकम भएपनि संस्थाले अनिवार्य बचत गरिदिने कार्यक्रम ल्याएको हो । संस्थाको शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न १० औं वार्षिक साधारण सभाले कर्मचारीको अनिवार्य बचतसँगै ऋण प्रवाह गर्ने बताएको छ । संस्थाका अध्यक्ष मेघनाथ सापकोटाले कर्मचारीलाई आर्थिक समस्या प्राय भईरहने भएकाले बचत गर्ने बानिको विकास गर्न कार्यक्रम अघि बढाईएको बताए । उनले शेयर सदस्य संख्या बढाउनुका साथै आर्थिक गतिविधिलाई प्रभावकारी कार्यान्वयन गरिने निर्णय भएको जनाए । उनका अनुसार संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ४५ लाख ८५ हजार ७ सय ४४ रुपैयाँको कारोवार गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि ५० लाख दुई हजार २ सय पचास रुपैयाँको प्रस्तावित कारोवार प्रक्षेपण गरेको छ ।


सभालाई नेपाल निजामति कर्मचारी यूनियन (संघ)का केन्द्रीय उपाध्यक्ष नृपजंग शाही तथा जिल्ला बहुउद्देश्य सहकारी संस्था सुर्खेतका अध्यक्ष चन्द्रपसाद थानीले आर्थिक समृद्धि बेगर वर्तमान परिप्रेक्षमा परिर्वतन सम्भव नरहेको बताए । उनीहरुले थोरै भएपनि बचत गर्ने बानीको विकासले कर्मचारीको भावि जीवनका सानातिना समस्यामा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । सभाले उमानन्द भण्डारीलाई असल बचतकर्ता, हरिप्रसाद पौडेललाई असल ऋण एवं शेयर सदस्यका छोराछोरीहरु मध्ये एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने कमल चौधरीकी छोरी अस्मिता चौधरीलाई सम्मान गरेको छ ।

Translate »