कर्णालीमा पर्यटकलाई देउतासरी स्वागत

भ्रमण वर्षको आफ्नै लोगो

स्काई न्यूज/ पुस १६, सुर्खेत ।
कर्णालीमा पर्यटकलाई देउतासरी स्वागत गरिने भएको छ । प्रदेश सरकारले बुधबार वीरेन्द्रनगरको बुलबुले तालदेखि भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दे पर्यटकको सुरक्षादेखि सेवा, सत्कारमा कुनै कसर बाँकी नराखी देउतासरी स्वागत गर्न सर्वसाधारणलाई आग्रह गरेको हो । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश बाहिरबाट आउने अतिथिलाई भगवानको रुपमा स्वागत गर्न आग्रह गरेका छन् । उनले कृषि तथा पर्यटनलाई नै समृद्धिको मुल आधारको रुपमा प्रदेश सरकारले गत वर्ष नै विशेष योजना बनाएर अघि बढिरहेको बताए ।

‘विश्वको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली भन्ने मूल नाराका साथ हामी अघि बढेका छौं,’ उनले भने, ‘कर्णालीको मुख्य आयश्रोत कृषि हो । आत्म निर्भर अर्थतन्त्रका लागि कृषिसँगै पर्यटनले टेवा पु¥याउँछ ।’ उनले रारा, शे–फोक्सुण्डो, कुभिन्डे दह, बुलबुले ताल जस्ता प्राकृतिक पर्यटनका आधार स्तम्भका रुपमा रहेको जिकिर गरे । कर्णालीमा मार्सी पाईने, जौ, फापर जस्ता रैथाने बाली अर्गानिक उत्पादन हुने हुँदा यसलाई एग्रो पर्यटनको रुपमा विकास गरिने उनको भनाइ थियो । ‘कर्णालीमा धार्मिक, सांस्कृतिक तथा भाषिक पर्यटनको सम्भावना पनि त्यतिकै छ,’ उनले भने, ‘नेपाली भाषाको उत्पति कर्णालीको सिंजामा नै भएकाले काँक्रेविहार, मानसरोवरका लागि आउने पर्यटकलाई देउतीबज्यै, चन्दननाथ मन्दिरलाई पर्यटन क्षेत्रको रुपमा प्रचार गरी हिन्दु तथा बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्न सकिन्छ ।’ उनले सडक पूर्वाधार अभाव जस्ता कारणले तत्कालका लागि चुनौती रहेपनि दिर्घकालिनरुपमा डटेर सामना गर्दै पर्यटकलाई कर्णालीमा आकर्षित गरिने उल्लेख गरे ।

प्रदेश सभाका सभामुख राजबहादुर शाहीले राष्ट्रको आवश्यकता तथा महत्व पूरा गर्न पर्यटन क्षेत्रले ठूलो योगदान दिइरहेको बताए । पर्यटनमैत्री संस्कार तथा व्यवहार प्रर्दशन गर्न आवश्यक रहेको औल्याउँदै उनले सबै क्षेत्रको सहकार्य एवं समन्वयबाट मात्रै कर्णालीको समृद्धि सम्भव रहेको जनाए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नेपालकै भर्जिन कर्णाली प्रदेशमा पर्यटकलाई दिलदेखि नै स्वागत गर्न आफुहरु आतुर रहेको जिकिर गरे । यसअघि कर्णाली घुम्न आएका विदेशी पाहुनालाई बुधबार बबईमा भव्य स्वागत गरिएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले खादा ओढाई भारतीय पर्यटकलाई सम्मान गरेका हुन् । भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा प्रदेशको पहिचान झल्किने विभिन्न झाँकीहरुसहितको वीरेन्द्रनगरमा प्रर्दशन गरिएको छ । कार्यक्रममा जुम्लाको देउडा गित, हुडके नाच, सुर्खेत लेकबेसीदेखि सोरठि, नेपाल प्रहरिद्वारा ब्यान्ड बाजा, सिम्ताको गर्रा नृत्य, पसेरु नृत्य, राउटे नृत्य जस्ता झाँकी प्रदर्शन गरिएको थियो । शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसँगै प्याराग्लाइडिङ्गमा दुई जना विदेशी र चार जना नेपाली सहभागी भएका थिए । वीरेन्द्रनगरको १४ नम्बरमा पर्ने गढीदेखि सोझै बुलबुले तालमा प्याराग्लाईडिङ्गबाट उनीहरु अवतरण गरेका थिए ।


भ्रमण वर्षको आफ्नै लोगो
नेपाल भ्रमण वर्ष–२०२० को लागि कर्णाली प्रदेश सरकारले आफ्नै छुट्टै लोगो बनाएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लोगो छनोटको लागि सार्वजनिक सूचना आव्हाान गरेको थियो । देशभरबाट प्राप्त लोगो मध्ये सुर्खेतको वीरेन्द्रनगर घर भई हाल काठमाडौंमा कार्यरत पत्रकार गणेश आचार्यले डिजाईन गरेको लोगोलाई प्रदेश सरकारले आधिकारिक लोगोको रुपमा छनोट गरेको हो । उक्त लोगो भ्रमण वर्ष शुभारम्भको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार बुलबुलेमा आयोजित विशेष समारोहमा सार्वजनिक गरेका हुन् ।

लोगोमा ‘यसपालि घुमौं कर्णाली’ नारा लेखिएको छ । गोलाकार लोगोभित्र कर्णालीका पर्यटकीय सम्पदा झल्किने ताल, विहार, मन्दिर, देवल, पाटन, हिमाल र नदीका आकृति समेटिएका छन् । लोगो एउटै भएपनि अंग्रेजी र नेपाली भाषामा लेखिएका छन् । अंग्रेजीमा ‘भिजिट कर्णाली’ सँगै नेपालीमा ‘यसपालि घुमौं कर्णााली’ लेखिएको छ ।

Translate »