समय सापेक्ष सेवा दिऔं : मुख्यमन्त्री शाही

‘सहज सेवा, स्वच्छ विद्युत प्राधिकरण’

स्काई न्यूज /पुस १४, सुर्खेत ।
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन (आधिकारिक) ले शुरु गरेको ‘सहज सेवा, स्वच्छ विद्युत प्राधिकरण’ अभियान सुर्खेत आईपुगेको छ । युनियनले सोमबार वीरेन्द्रनगरमा गरेको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई अझैपनि पुरानै शैलीले काम गरे जनताले परिवर्तन महसुस गर्न नसक्ने भएकाले समय सापेक्ष परिवर्तन हुन आग्रह गरे । ‘प्रविधिको जमाना शुरु भैसक्यो, हामी पुरानै शैलीमा धमिरा लागेका फाइल पल्टाउँछौं,’ उनले प्रश्न गरे, ‘कसरी हुन्छ जनतामा परिवर्तनको महसुस ? ।’ युनियनको आयोजनामा भएको राष्ट्रिय अभियान अन्तर्गत सोमबार भएको कार्यक्रममा मुख्यमन्त्री शाहीले जबसम्म जनतामैत्री काम कर्मचारीबाट हुँदैन तबसम्म परिवर्तनको महसुस गराउन नसकिने जिकिर गरे । ‘हामी केवल आफ्नो मात्र सोच्ने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘सेवाग्राहीको भावना बुझ्न सके मात्रै जनताले मुलुकमा परिवर्तन आएको महशुस गर्नेछन् ।’ यसअघि मुख्यमन्त्री शाहीले ‘स्वच्छ सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ भन्ने राष्ट्रिय अभियानमा रहेको राष्ट्रिय कर्मचारी युनियनको आयोजनामा प्राधिकरणको सुर्खेत कार्यालय परिसरमा वृक्षारोपण गरेका थिए ।


प्राधिकरणको अहिलेको अवस्था र सुधार गर्नुपर्ने कामको बारेमा तयार परेको कार्यपत्र प्रस्तुत गर्दे युनियनका सह–संयोजक खगेन्द्र शाहीले सुशासन कायम हुने गरी प्राधिकरणको सेवा पारदर्शी, मितव्ययी एवं व्यावसायिक बनाउन अभियान थालिएको बताए । उनले प्राधिकरणभित्र ग्राहकले सहज, सरल र भरपर्दोरुपमा सेवा पाउने गरी व्यवस्थापनलाई जिम्मेवार बनाउन युनियन प्रयासरत रहेको बताए । ‘युनियनले प्राधिकरणभित्र हुने आर्थिक अनियमितताको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै १९ बुँदे घोषणा गरेका छौं,’ उनले भने, ‘कार्यालय समयमा ट्रेड युनियनका गतिविधि नगर्ने, ग्राहकलाई मुस्कानसहितको सेवा दिन कार्यालय प्रमुख र कर्मचारीलाई आह्वान गर्ने, विद्युत खपत बढाउन ग्राहकलाई प्रेरित गर्ने घोषणामा उल्लेख छ ।’ उनले देशभरका सबै कार्यालयमा समान प्रकारको रंग–रोगन गर्ने, प्राधिकरणको खाली जग्गामा वृक्षारोपण गर्ने, सेवाग्राहीका लागि सफा पिउने पानी तथा महिला र पुरुषहरुका लागि छुट्टा–छुट्टै सफा शौचालयको व्यवस्था गर्ने घोषणा पनि युनियनले गरेको जनाए ।

उनका अनुसार सेवाग्राहीको गुनासो सुन्न सहायता कक्ष खडा गर्ने, सहायता कक्षबाट नै सेवाग्राहीको गुनासो सुनी सेवा प्रवाह गर्ने, कार्यालयको सेवा ग्राहक–मैत्री बनाउन एकद्वार प्रणाली लागू गराउने प्रतिवद्धता युनियनले गरेको छ । ‘अनलाइनमार्फत विद्युत महसुल भुक्तानी सेवा विस्तार गर्ने, नयाँ मिटर जडान, लोड स्वीकृति गर्ने कार्यका लागि अनाधिकृत रकम मागेर दुखः दिएमा हटलाइन नम्बर ११५० मार्फत जानकारी दिन सेवाग्राहीसमक्ष आग्रह गर्दछौं,’ संगठन विभाग प्रमुख भूपेन्द्र अर्याल भने, ‘प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान, लोड स्वीकृति गराउँदा अझै पनि आर्थिक चलखेल गर्ने गरेको गुनासो आउने गरेको छ । कर्मचारीले अनावश्यक दुःख दिए, अनधिकृत रकम माग गरे उपभोक्ताले सहजै पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र ११५० मा फोन गर्न सक्नु हुनेछ ।’ उनले सरकारी संस्थानमा कार्यरत विभिन्न राजनीतिक पार्टी निकटका ट्रेड युनियनले राजनीतिक स्वार्थसिद्ध गर्न मात्रै काम गर्दै आएको आरोप लागेपनि अब ती दिन गईसकेकाले सेवाग्राहीको सेवा अब कर्मचारीले मुस्कानसहित दिनु पर्ने जिकिर गरे ।

Translate »