कर्णालीमा पाहुनालाई विशेष छुट

नेपाल भ्रमण वर्ष २०२०

स्काई न्यूज/ पुस १४, सुर्खेत ।
नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न संघसंस्थाले आ–आफ्नो सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । बुधबारदेखि शुरु हुने नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै होटल व्यवसायी संघ सुर्खेत, सुर्खेत काँक्रेविहार यातायात प्रालि, कर्णाली राफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन् । संघले आफ्ना सदस्य होटलमा आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलका रुममा १० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । उक्त अफर लागू गर्न सदस्य होटललाई आग्रह गरिएको संघका अध्यक्ष गोरख रावतले । सुर्खेत आउने सबै विदेशी पाहुनाका लागि यस्तो छुट दिइनेछ ।

सुर्खेतमा साना, ठूला गरि करिब एक हजार ४ सय होटलहरु आबद्ध छन् । संघको देशैभर ७८ जिल्लाहरुमा ८० हजार सदस्य होटलहरु रहेका छन् । यस्तै कर्णाली राफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिले पनि भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा ५० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका प्रबन्ध निर्देशक देवराज जैसीले भेरी नदीको जामुपुलदेखि कुइनेसम्मको करिब १५ किलोमिटर राफ्टिङ्ग गरे वापत हाल लिईने प्रति व्यक्ति शुल्क दुई हजारबाट घटाएर एक हजार रुपैयाँ गरिएको जानकारी दिए । उनले जामुमा रहेको राजी होमस्टेमा खाना, बस्न ‘लजिङ फुडिङ’ मा समेत छुट दिने निर्णय भएको बताए । सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ । होटल व्यवसायीले अहिलेकै अवधिमा ५ लाख पर्यटकलाई धान्न सकिने बताएका छन् ।
बुलबुलेबाट भ्रमण वर्षको शुभारम्भ
कर्णाली प्रदेश सरकारले सुर्खेतको बुलबुले तालबाट विविध कार्यक्रमसहित भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने घोषणा गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय मंगलगढी चोकदेखि शुरु हुने विभिन्न झाँकीसहित बुलबुले तालबाट भ्रमण वर्षको शुभारम्भ गरिने जानकारी दिएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भ्रमण वर्ष २०२० को अवसरमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सागका पदकधारीहरुलाई सम्मान गर्ने लगायतका कार्यक्रम रहेको जानकारी दिए । ‘भ्रमण वर्षको शुरु भएको उत्सव मनाउन प्रदेश राजधानी भित्रका सबै तह र तप्कालाई विभिन्न माध्यमबाट जानकारी दिई सकेका छौं,’ उनले भने, ‘प्रदेश सरकारले भ्रमण वर्षमा एक लाख बाह्य पर्यटकहरु कर्णालीमा भित्र्याउने लक्ष्य राखेको छ ।’ उनले २० वटा आन्तरिक तथा २० वटा बाह्य गन्तव्य किटान गरि पर्यटकलाई कर्णालीमा भित्र्याउने योजनासहित मुगुको रारा ताल, डोल्पाको शेफोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहारलगायतका पर्यटकीय स्थलहरुलाई बढी फोकस गरिएको जनाए । उनका अनुसार रारा ताल र शेफोक्सुण्डो ताल नजिकका गाउँहरुमा पर्यटकहरुलाई लक्षित गरि होम स्टे सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारको रहेको छ ।

Translate »