‘कर्णालीलाई ३ वर्षभित्र उज्यालो पारिने’

कर्मचारीसँग कार्यसम्पादन सम्झौता

स्काई न्यूज /पुस ५, सुर्खेत ।
नेपाल विद्युत् प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । प्राधिकरणले कर्णाली प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रका प्रमुखसँग शनिबार वीरेन्द्रनगरमा कार्यसम्पादन सम्झौता गरेको हो । सेवामा सुधार ल्याउने र विद्युत् चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी सम्झौता गरिएको प्राधिकरणले बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णालीलाई ३ वर्षभित्र उज्यालो पारिने बताए । ‘हामी कर्णालीलाई ३ वर्षमा उज्यालो बनाउन बजेटको अभाव हुन दिने छैनौं । कोहलपुरदेखि सुर्खेत, कालिकोट वा आवश्यकता अनुसार माथिल्लो क्षेत्रसम्म १३२ केभी प्रसारण लाइनको टेन्डर आव्हान गर्न लागत मूल्यांकन गरिरहेका छौं,’ उनले भने, ‘प्रसारण लाइन बनेको खण्डमा कर्णालीको विद्युतको समस्या समाधान हुनेछ ।’ कार्यसम्पादन सम्झौता गर्दे कार्यकारी निर्देशक घिसिङले प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाउन निर्देशन दिए । उनले चुहावट नियन्त्रणसँगै ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण केन्द्रहरुमा आचरणमा परिवर्तन गरी संस्थागत सुशासन कायम गर्न, वित्तीय अनुशासनमा रहन एवं जनतासँगको सम्बन्ध सुधारलाई कठोरता साथ लागू गर्न निर्देश गरे ।

‘अबको हाम्रो मुख्य लक्ष्य सेवा प्रवाहमा सुधार र सुशासन हो, सेवाग्राहीलाई दुःख दिने र उनीहरुबाट नाजायज फाइदा लिन खोज्ने कर्मचारीलाई तत्कालै कारबाही गछौं, ग्राहकमा राखिएको मिटरमै प्राविधिकको आम्दानी लगायत सबैथोक छ, अनियमिता पनि त्यहीं हुन्छ, मिटर रिडिङ नगरी स्टक राख्नेलाई कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने, ‘आफ्नो कार्यालयलाई आवश्यक पर्नेभन्दा बढी सामान खरिद गर्ने केन्द्र प्रमुख, लेखा तथा स्टोर प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याइने छ ।’ उनले प्राधिकरणसँग उपलब्ध स्रोतको अधिकतम प्रयोगमा ल्याएर कार्यालयमा स्टक रहेका विद्युतको पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणको अधिकतम प्रयोग गर्न समेत निर्देशन दिए । वितरण केन्द्रलाई स्रोतसाधन सम्पन्न बनाउन बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाएका निर्देशक घिसिङले वित्तीय अनुशासनमा रहेर कार्यालयको खर्चमा मितव्ययी बन्न, जथाभावी सामान खरिद नगर्न सुझाव दिए । उनले विगतका वर्षमा विद्युत् प्राधिकरणका कर्मचारीले वैशाख र जेठमा कोटेसनमार्फत काम गराउने सम्झौता भएकाले छानबिन भइरहेको बताए ।

‘८ महिना हात बाँधेर बस्ने अनि अन्तिम समयमा कोटेसनमार्फत करोडौंको काम भएको पाइयो । त्यसबारेमा हामी छानबिन गरिरहेका छौं,’ उनले भने, ‘ठूलो समस्या भए वा प्राधिकरणलाई ठूलो क्षति हुने अवस्थाबाहेक तपाईहरु कोटेशनमार्फत बिल्कुल काम नगराउनु होला ।’  कार्यकारी निर्देशक घिसिङले कर्णाली प्रादेशिक कार्यालय प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीसँग कार्यसम्पादन सम्झौता गरेका छन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले कर्णाली प्रदेशका १० वटै जिल्लाका वितरण केन्द्र प्रमुखसँग सम्झौता हुन् । कार्यसम्पादन सम्झौंतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, ग्राहक सेवाको स्तर वृद्धि गर्नेलगायत कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ । प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रण, औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य निर्धारण गरिएको छ । कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरेर केन्द्र प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई कर्णालीे प्रदेश कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो । उपकार्यकारी निर्देशक हरराज न्यौपानेले विद्युतीय दुर्घटनालाई न्यूनिकरण गर्न सुरक्षामा ध्यान दिन, ग्राहकलाई दिइने सेवा प्रवाहलाई सुधार गर्न निर्देशन दिए । विद्युत चोरीको हुकिङ हटाएर मात्रै विद्युत् चुहावट नघट्ने भन्दै उनले प्राविधिक चुहावटतर्फ पनि ध्यान दिन निर्देशन दिए । उनका अनुसार वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ । कर्णालीका ५ जिल्लामा हालसम्म पनि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत र दैलेखमा मात्रै लाइन पुगेको छ । साविक कर्णालीका ५ जिल्लामा नेपाल विद्युत् प्राधिकरणले लघु जलविद्युत् आयोजनामार्फत बिजुली उत्पादन भइरहेको छ ।


‘सेप्रेट फिडर’ लाइनको सम्भाब्यता अध्ययन गर्न निर्देशन
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका लागि छुट्टै विद्युत लाईन जोड्न सम्भाब्यता अध्ययन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निरीक्षणका क्रममा औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर लाईन (सेप्रेट फिडर) जोड्न सम्भाब्यता अध्ययनका लागि वितरण शाखा सुर्खेतलाई निर्देशन दिएका हुन । कार्यकारी निर्देशक घिसिङले यसै आर्थिक वर्षभित्र सेप्रेट फिडर जोड्न सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले बताए । घिसिङले वीरेन्द्रनगर– १० बुद्बुदिस्थित वितरण केन्द्रको सब स्टेशनको समेत निरिक्षण गरेका छन् । औद्यागिक क्षेत्र र सब स्टेशनको दुरी नजिकै भएपनि बस्ती र रुखका कारण छुटै लाइन ल्याउन प्राविधिक रुपमा चुनौति भएको निर्देशक घिसिङलाई वितरण केन्द्र सुर्खेतका प्रमुख गिरीले जानकारी गराएका थिए । औद्योगिक क्षेत्रका लागि छुट्टै लाइन हुनुपर्नेमा वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा ग्राहक र औद्योगिक क्षेत्रको विद्युत लाइन एउटै हुँदा पटक –पटक विद्युत अवरोध हुने गरेको छ । विद्युत नियमित नहुँदा यहाँका उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेका छैनन् । ११ प्रकृतिका वस्तु उत्पादन गर्ने २७ वटा उद्योगलाई डेडिकेटेड फिडर लाईन नहुँदा समस्या हुने गरेको वीरेन्द्रनगर औद्यागिक कार्यालय प्रमुख जीवनारायण बन्जाडेले बताए ।

Translate »