बड्डीचौर–गुटु–बेनीघाट सडक : ट्¥याक खुलेको अढाई दशकसम्म अधुरै

बड्डीचौर–गुटु–बेनीघाट सडक

स्काई न्यूज /मंसिर २६, सुर्खेत ।  वर्षातमा हिलाम्य र सुख्यामा धुलाम्य ग्रामीण सडकहरुको मुख्य समस्या नै हो । अधिकांश जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, सुर्खेत सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका यस्ता ग्रामीण सडकहरुको स्तरोन्नती समयमा नगरिँदा सवारी चालक, यात्रु र स्थानीय बासिन्दाले दिनहुँ सास्ती भोग्नु परेको छ ।

सदरमुकाम वीरेनद्रनगरबाट पश्चिम तर्फ जाने बड्डीचौर–गुटु–बेनिघाट सडक निर्माणको अढाई दशक विति सक्दा पनि स्तरोन्नती हुन सकेको छैन् । पश्चिम सुर्खेतका कुनाथरी, तरंगा, पोखरीकाँडा, सालकोट, बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, गुटु, विजौरा, लगाम र बेतान लगायतका थुप्रै गाउँलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई जोड्ने बड्डीचौर–गुटु–बेनिघाट सडक निर्माण शुरु भएको अढाई दशक बिति सक्दापनि सडकको स्तरोन्नती नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।

जनतालाई विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनिधिले ढिलासुस्ती गर्दा धेरै कष्ठ भोग्नु परेको चौकुने गाउँपालिका–७, का भोजराज थापा बताउँछन । उनको घर बड्डीचौर–गुटु–बेनीघाट सडकको छेउमै छ । साढे अढाई दशकअघि आफ्नै घरआँगनबाट सडक बन्दा उनको खुशीको सीमा नै थिएन । सडक निर्माण भएपछि उनले अब गाउँको मुहार फेरिने सपना बुनेका थिए ।

तर, त्यतिबेलाको उनको खुशी आज निराशामा परिणत हुन पुगेको छ । किनभने करिब २६ वर्ष बितिसक्दा पनि सडकको स्तरोन्नति हुन सकेन् ।

जिल्लाको सिङ्गो पश्चिम तथा सुदूरपश्चिमको डोटी जिल्लालाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक मानिएको बड्डीचौर–गुटु–बेनीघाट सडक वर्षौंदेखि स्तरोन्नतिको पखाईमा छ । कालोपत्रे गरिएको सडक सहज यात्रा गर्न पाउने दिनको पखाईमा बसेका नागरिकमा अब निरासा छाउन थाले बताउँछन ।

तर भोजराजले भने, ‘यत्तिका वर्ष बितिसक्यो अहिलेसम्म जस्ताको त्यस्तै छ,’ खै कहिले सुधार होला र यो सडक ?’ सडक निर्माण शुरु भएको करिब अढाई दशक बितिसक्दा पनि सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । ‘जनतालाई सुविधा दिन बनाइएको सडकले सहजता भन्दा बढी झन् सास्ती दिएको छ,’ भोजराजले दुःखेसो पोखें ।

सडक घाम लागे धुलाम्मे र पानी परे हिलाम्य हुन्छ । अनगिन्ती खाल्डाखुल्टी छन् । कतिपय स्थानमा सडक निकै साँघुरो छ । सवारी साधन सञ्चालन हुँदा उड्ने धुलोले सडक आसपासका घरभरी धुलो भरिन्छ ।

‘चिसो शुरु भयो, आँगनमा बसेर घाम तापौं भने पनि धुलोले बसी खान दिदैंन,’ बाबियाचौरका मानबहादुर बयकले गुनासो गरे । उनले गर्मी लागेसँगै सडक आसपासका बासिन्दामा धुलोले फोक्सो दुख्ने विरामीको संख्या बढेको बताए । सडकको केही भाग ग्राभेल गरिएको छ । तर ग्राभेल गरिएको हो भन्ने पत्याउन मुश्किल छ । किनभने सडकमा गिट्टी भन्दा बढी धुलो छ ।

देशको नयाँ संरचना अनुसार सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको यस अलपत्र सडकलाई अहिले पूर्व—पश्चिम जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको नाम दिईएको छ । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको उक्त सडकमा ६ वर्षदेखि जिल्ला समन्वय समितिले मर्मत गर्दै आएको थियो ।

तर, संघीयता संरचना अनुसार जिल्ला समन्वय समितिको भूमिका सिमित पारिएपछि उक्त सडक स्तरोन्नतीको काम न त स्थानीय सरकार गरेको छ न त प्रदेश सरकारले नै गरेको छ ।

९५ किलोमिटर लम्वाई रहेको उक्त सडकको स्तरोन्नती नहुँदा सर्वसाधारणलाई आवत—जावतमा कठिनाई हुनुका साथै यस क्षेत्रका कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन् । राज्यले सडक स्तरोन्नती गरिदिए सुर्खेतबाट डोटी, अछाम, कैलाली र काठमाडौं जानलाई हाल भन्दा दुरी छोटो पर्ने थियो ।

गुटुका समाज सेवी काशीराम देवकोटाले प्रदेश सरकारको पूर्वाग्रहले नै बड्डीचौर–गुटु–बेनिघाट सडक स्तरोन्नतीको काम दुई वर्षदेखि ठप्प भएको जनाए । उनले विभिन्न बहानामा प्रदेश सरकारले पश्चिम सुर्खेतको विकासप्रति काम भन्दा गफ बढी दिएर जनतालाई बेवकुफ बनाई रहेको बताए ।

Translate »