‘व्यवसायीमैत्री वातावरण बनाउन माग’

मेडिकल कलेज, प्रदेश अस्पतालको स्तरोन्नतीसँगै एयरपोर्ट विस्तार गर्छु : राज्यमन्त्री रावत

स्काई न्यूज /मंसिर २२, सुर्खेत ।
सुर्खेतका उद्योगी, व्यवसायीले व्यवसायीमैत्री वातावरण बनाई दिन सरकारसँग माग राखेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष धनवहादुर रावतले व्यवसायमैत्री वातावरण बनाउन सुझाव दिए । ‘तीन तहका सरकारले तीन थरी करको कुरा गर्छन, जसले गर्दा व्यवसायीहरु त्रसित भएका छौं,’ उनले भने ‘सरकारले व्यवसायीमैत्री वातावरणको सिर्जना गरोस् ।’ संघले राज्यमन्त्री रावत मार्फत संघीय सरकारसंग विभिन्न २० बुँदे माग पेश गरेको छ ।

प्रदेश अस्पताललाई तीन सय शैय्यामा सञ्चालन गर्नुपर्ने, कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थाहरुमा २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराईनुपर्ने, मेडिकल कलेज स्थापनाको कामलाई छरितो गर्नुपर्ने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने माग संघले राखेको छ । यस्तै एक प्रदेश एक औधोगिकग्राम अन्तर्गत सुर्खेतमा औधोगिक क्षेत्र निर्माणको काम यथाशिघ्र थाल्नुपर्ने, कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारणलाईन निर्माण कार्य छिटो गर्नुपर्ने, मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतखण्डको काम छिटो शुरु गर्नुपर्ने र सुर्खेत विमानस्थलको विस्तार गर्नुपर्ने माग संघले अघि सारेको हो । अन्तरक्रियामा व्यवसायीहरुले स्वास्थ्य सेवालाई सर्व सुलभ तथा विश्वसनीय बनाउन सुझाव दिएका छन् । चिकित्सकले सरकारी अस्पतालमा भन्दा नीजि क्लिनिकमा समय दिने गरेको गुनासो गर्दै यसको यथासक्य अन्त्य गर्न पर्नेमा व्यवसायीले राज्यमन्त्री रावतसँग माग राखेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले मुलुकको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए । राज्यमन्त्री रावतले देशको समृद्धिका लागि सरकारले लिएको लक्ष्य हाँसिल गर्न नीजि क्षेत्रले आफ्नो भूमिकालाई सशक्त पार्नुपर्ने बेला आएको जिकिर गरे । ‘सरकारले सरकारी–नीजि तथा सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेको छ,’ उनले भने, ‘अहिलेको सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्न नीजि क्षेत्रले आफ्नो व्यापार व्यवसायलाई निर्वाधरुमा अगाडि बढाउनुहोस् ।’ प्रदेश अस्पताल, सुर्खेत विमानस्थल एवं मेडिकल कलेज स्थापना गर्ने कार्यलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री रावतले स्थानीय सरोकारवालासँग समन्वय तथा सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

Translate »