फोनिज कर्णालीको अध्यक्षमा घर्ती

स्काई न्यूज /मंसिर १९, सुर्खेत ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्रबहादुर घर्तीमगर चयन भएका छन् । फोनिजको बुधबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनले घर्तीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष धर्मरत्न थापामगर, महिला उपाध्यक्ष करिष्मा चौधरी, महासचिव, सन्तोष घर्तीमगर संगठन सचिव सपना पुनमगर, संस्थागत सचिव, डिलबहादुर चौधरी तथा कोषाध्यक्षमा राजेश कुमाल तथा सदस्यहरुमा बवी गुरुङ्ग, दिपा गाहामगर, खिमा गुरुङ्ग, मनकला बुढामगर, छफाल लामा चयन भएका छन् ।

महाधिवेशनको उद्घाटन गर्दे कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले नेपालको विभिन्न कालखण्डको परिवर्तनका मोडहरुमा जनजातीहरुले निर्वाह गरेको भूमिका ईतिहासमा स्वर्णिम अक्षरहरुले लेखिएको जिकिर गरे । उनले युगान्तकारी परिवर्तनमा जनजातीले खेलेको भूमिका अतुलनीय, अविस्मणीय र अनुकरणिय रहेको औल्याए । ‘जनजातीहरुले देशको सार्वभौमिकता राष्ट्रिय अखण्डताका निम्ति ठूलो योगदान दिएकोले यो जाती प्रति नै गर्व गर्नुपर्छ,’ उनले भने, ‘जनयुद्धमा समेत जनजातीले कालको आँखामा आँखा जुधाएर पूरानो सत्ताको विरुद्धमा ठूलो जेहाद छेड्दै जनजातीका छोराहरुको बलिदान स्वरुप मूलुकमा संघीयताको अभ्यास भईरहेको छ ।’ कार्यक्रममा केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गले जनजातीका मुद्दा दविएको आवाजलाई बुलन्द पार्दै फोनिजका साथीहरुले सञ्चार माध्यमद्वारा चारै तिर पु¥याउनु पर्नेमा जोड दिए ।

Translate »