सुर्खेतका होटलहरुको वर्गीकरण शुरु

अझै खाद्य स्वाच्छतामा सुधार गर्नुपर्ने

स्काई न्यूज /मंसिर १७, सुर्खेत ।
सुर्खेतका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गर्न शुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरका होटल तथा रेष्टुरेन्टको वर्गीकरण शुरु गरेको हो । सदरमुकाममा रहेका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाइएको छ । खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ । ९० अंकभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट ‘घ’ वर्गमा समावेश हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापाले बताए ।

होटल तथा रेष्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाई, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषाक्त भएका खानेकुराको व्यवस्थापनलगायतका ५० वटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ । स्तरीकरणको लागि मंगलबार गरिएको निरीक्षणको क्रममा ३ वटा होटलको मात्र स्तरीकरण गरिएको छ । वीरेन्द्रनगरका नाम चलेका होटल सिद्धार्थ, होटल शुभ र नमस्ते होटलमा गरिएको निरीक्षणका क्रममा एक देखि दुई स्तरसम्म सुधार भएको पाईएको छ ।

‘ती होटलले खाद्य स्वच्छताको विषयमा न्यूनतम मापदण्ड थप अझै पुरा गर्नु पर्ने देखिन्छ,’ निमित्त प्रमुख थापाले भने, ‘सुधारको लागि निर्देशन दिइएकाले अब थप उनीहरु स्तरोन्नतीका लागि प्रयासरत रहेको पाइएको छ ।’ होटल शुभको यसअघि सन्तोषजन मात्र रहेकोमा अहिले सुधार गरि अति उत्तम पाएको छ भने होटल सिद्धार्थले अझै केही सुधारका काम गर्नुपर्ने देखिएको स्तरीकरण समितिले बताएको छ । त्यस्तै होटल नमस्तेले आफ्नो पूर्ववत् स्थान कायम गर्दे उत्तम स्थान ओगट्न सफल भएको छ । होटल व्यवसायी संघ, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले स्तरीकरण गरेको थियो ।

Translate »