बजेट खर्चिन कर्णालीका मुख्यमन्त्री शाहीको निर्देशन

मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य

स्काई न्यूज/ मंसिर १५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा केन्द्रीत हुन विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई निर्देशन दिएका छन् । आईतवार कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अबको ३ महिना कतै पनि नजान निर्देशन दिएका हुन् । ‘बजेट कार्यान्वयनका लागि अबको ३ महिना महत्वपूर्ण हुने छन्,’ उनले भने, ‘मन्त्री तथा सचिव कोही पनि विदामा नवस्नुस, संघीय सरकारका कार्यक्रम हुन की गैरसरकारी निकायका कार्यक्रमका हुन कतै नजानुस ।’

उनले दोस्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य पुगेको हुनुपर्ने अडान राखे । आगामी ३ महिनाको कार्यसम्पादनको आधारमा मन्त्री तथा सचिवको कार्यक्षमताको मुल्यांकन हुने उनको भनाइ थियो ।  ‘संसदले पास गरेको नीति, कार्यक्रम तथा वजेट कार्यान्वयमा हुने अलमल, ढिलासुस्ती, लापरवाही कुनैपनि अर्थमा क्षम्य हुँदैन,’ उनले भने, ‘वजेट कार्यान्वयका क्रममा देखिएका समस्या तुरुन्तै सम्बन्धित पक्षलाई जानकारी गराउनु होस् । बजेट कार्यान्वयनमा कहाँ समस्या आउछ तुरुन्तै रिपोर्ट गर्नुस ।’

उनले नीतिगत, कानूनी, तथा व्यवहारिक समस्या जे आउछ तुरुन्त सामाधान गरेर अगाडि बढिने जिकिर गरे । ‘काम गर्न सकिँदैन भने ईमान्दारिका साथ सक्दिन भन्नुहोस,’ मुख्यमन्त्री शाहीले भने, ‘आर्थिक वर्षको अन्तमा मन्त्रालयको प्रगति कमजोर देखिए त्यो भन्दा ठूलो जनताप्रतिको धोका अरु केही पनि हुनै सक्दैन ।’ प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना वमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण प्रथम चौमासिकको प्रगति सन्तोषजनक नदेखिए पनि दोश्रो चौमासिकको प्रगति उत्साहजनक हुनुपर्नेमा मुख्यमन्त्री शाहीले जोड थियो ।

Translate »