‘संघीयताको अभ्यासले सामाजिक विभेद अन्त्य हुने’

स्काई न्यूज /मंसिर १५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयताको अभ्यासबाट सामाजिक विभेदको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको प्रथम दलित संसदको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयताको अभ्यासले दलित, महिला, जनजाति तथा सिमान्तकृत समुदायको राज्य सञ्चालनमा सहभागिता बृद्धिसँगै नेतृत्व क्षमताको विकास भएको दावी गरेका हुन् ।

उनले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायको आयआर्जन तथा रोजगारीका अवसरहरु श्रृजना गरि आर्थिक रुपमा सवल वनाउन प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’, ‘मुख्यमन्त्री दलित तथा महिला आयआर्जन कार्यक्रम’, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’ लगायतका कार्यक्रमहरु ल्याईएको जानकारी दिए । ‘कर्णाली प्रदेशमा जातीय विभेद लगायत सबै खाले सामाजिक विभेद अन्त्यका लागि प्रदेश सरकारको प्रतिवद्ध रहेको छ,’ उनले भने, ‘कुराले मात्र सामाजिक विभेद अन्त्य हुने होईन, प्रदेश सरकारले सबैखाले सामाजिक विभेद अन्त्यका लागि व्यवहारिक रुपमै आवश्यक वजेट सहित ठोस कार्यक्रम प्रदेश सरकारले अगाडि वढाएको छ ।’ उनले महिला, दलित, जनजाति तथा सीमान्तकृत समुदायमाथिको विभेद पूर्णरुपमा अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाईनु पर्ने औल्याए ।

Translate »