प्रदेश अस्पताललाई नमूना बनाइनु पर्छः राज्यमन्त्री रावत

स्काई न्यूज /मंसिर ८, सुर्खेत ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश अस्पताल सुर्खेतलाई नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको बताएका छन् । आइतबार प्रदेश अस्पतालमा आयोजित कार्यक्रममा राज्यमन्त्री रावतले प्रदेश तथा केन्द्र सरकारको समन्वयमा देशकै नमूना मध्येको एक अस्पताल बनाउन सरकार प्रयासरत रहेको बताएका हुन् । उनले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील सवालमा हरेक नागरिकले पाउनु पर्ने स्वास्थ्य सेवाको सुनिश्चतता गर्न सरकार निरन्तर प्रयास रहेको जिकिर गरे । हरेक क्षेत्रबाट पछाडि परेको कर्णालीको विकासमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाईने उनको भनाइ थियो ।
राज्यमन्त्री बनेपछि पहिलो पटक अस्पताल पुगेका राज्यमन्त्री रावतले विगतका अनुभवलाई संगालेर अस्पताललाई सुविधा सम्पन्न बनाउन सबैको सहयोग तथा समन्वय आवश्यक रहेको जिकिर गरे । ‘साविकको क्षेत्रीय अस्पतालबाट विकास गरि प्रदेश अस्पतालमा रुपान्तरण हुनुका अनुभूतिहरु आम सर्वसाधरणले महशुस हुने गरे सेवा प्रवाह गर्नु पर्छ,’ उनले भने, ‘कुनैपनि नागरिक न्यूनतम् स्वास्थ्य सेवा पाउनु बाट बञ्चित पारिनु हुँदैन र अस्पतालमा आएका बिरामीलाई अन्य ठाउँमा रिफर गर्ने चलनको समेत अन्त्य गरिनु पर्छ ।’ उनले सरकार हरेक नागरिकलाई अनिवार्य स्वास्थ्य सेवा पु¥याउन कुनै कमी हुन नदिनेमा प्रतिवद्ध समेत रहेको उल्लेख गरे । ‘उपचारका लागि अस्पतालमा आउने हरेक विरामीलाई आफ्नै दाजुभाई, दिदीबहिनी सम्झेर सेवा प्रवाहमा कुनै कमि हुन नदिनुहोस,’ उनले भने, ‘अस्पतालको विकासका लागि प्रदेश तथा संघीय सरकारसँगै आफ्नो व्यक्तिगत निरन्तर सहयोग रहनेमा विश्वस्त रहनुहोस् ।’ उनले अतितका गलत परम्परा तथा विकृति विसंगतिलाई तत्काल हटाएर समय सापेक्ष अस्पताल सुधारको प्रक्रियामा अगाडि बढ्न निर्देशन समेत दिए ।

यसैक्रममा प्रदेशमा आयुर्वेदको अवस्था, समस्या तथा सुधार गर्न सकिने बारेमा बुझ्न राज्यमन्त्री रावत आइतबार प्रदेश आयुर्वेद औषधालय पुगेका छन् । औषधालयमा पुगेर औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकाल, औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजाललगायत कर्मचारीसँग वर्तमान समस्या, जडिबुटी संकलन, भण्डारण, रुलर फार्मेसी स्थापना लगायतका बारेमा छलफल गरेका हुन् ।

उनले कर्णाली प्रदेशमा उपलब्ध जडिबुटी संकलन गरि प्रदेशमै खपत हुन नसकेको जडिबुटी निर्यात तथा प्रवद्र्धनका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘आयुर्वेदिक औषधीले ढिलो रोग निको भएपनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि ग्रामीण वस्तीसँगै शहरी क्षेत्रका बासिन्दामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ,’ उनले भने, ‘सरकारले आयुर्वेदिक क्षेत्रमा लगानी बढाइरहेकाले औषधालयको भौतिक संरचनासँगै कर्मचारी व्यवस्थापनका लागि आफ्नो स्तरबाट पर्याप्त प्रयास गरिने छ ।’ उनले सुर्खेतमा प्रदेशकै रुरल फार्मेसी स्थापनासँगै जडिबुटी संकलन केन्द्र निर्माणका लागि समेत आफुले विशेष पहल गर्ने जिकिर गरे । यता औषधालय व्यवस्थापन समितिले भौतिक संरचना निर्माण तथा थप कर्मचारी व्यवस्थापन गरि दिन माग पत्रसहित लागत स्टिमेट राज्यमन्त्री रावतलाई बुझाएका थिए ।

Translate »