भूमि तथा सहकारी रजिष्ट्रार कार्यालय स्थापना

स्काई न्यूज/ सुर्खेत ८, मंसिर
सुर्खेतको वीरेन्द्रनगरमा भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय स्थापना भएको छ । प्रादेशिक संरचना अनुसार कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहने गरि भूमि एवं सहकारीको नियमन, अनुगमन गर्न भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयको स्थापना गरिएको हो । आइतबार वीरेन्द्रनगरमा कार्यालयको उद्घादन गर्दै मन्त्री केसीले सहकारी रजिष्टार कार्यालयको स्थापनासँगै अब भूमि तथा सहकारीमा रहेका विकृति एवं विसंगति अन्त्य गर्न नियमावलि आवश्यक रहेको औल्याईन् ।

‘सहकारी ऐन बनाएसँगै भूमि तथा रजिष्ट्रारको कार्यालय स्थापना भईसकेपछि निर्देशिका बनाएर सहकारीलाई नियमन तथा अनुगमनको काम अगाडि बढाईनेछ,’ उनले भनिन्, ‘सहकारी विधेयक पास हुनुमा सबैको साझा प्रयास एवं सहयोगबाटै ऐनका रुपमा आएकाले भूमि तथा सहकारीको व्यवस्थापनमा सहजता आउनेछ ।’ उनले नियमावलि तयारी भईसकेकाले छिट्टै सदनबाट पास भएलगतै दर्ता प्रक्रिया एवं कार्यक्षेत्र विस्तार गर्न सहजता पुग्नेछ । उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले सहकारी शिक्षालाई अनिवार्य शिक्षाका रुपमा विकास गर्न विद्यालयको पाठयक्रममा नै राख्नुपर्नेमा जोड दिए । उनले समाज परिवर्तनमा सहकारीको भूमिका महत्वपूर्ण हुँदै गएकाले कृषि सँगै सहकारीलाई जोड्दा समृद्धी निमार्णमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । त्यस्तै प्रदेश सभा सदस्य सिताकुमारी नेपालीले सहकारी रजिष्टार कार्यालयको स्थापनाबाट सहकारी दर्ता, नियमन तथा अनुगमनमा प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा राखिन् ।

Translate »