आपसोतीको झोलुङ्गेपुल ९८ प्रतिशत पुरा

अबको एक साता भित्र उद्घाटनको तयारी


स्काई न्यूज /मंसिर ४, सुर्खेत ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोतीमा बन्न लागेको बहुप्रतिक्षित झोलुङ्गेपुल निर्माण कार्य ९८ प्रतिशत पूरा भएको छ । गुर्भाकोटको आपसोती र घुगुती खोला जोड्ने करिब १८० मिटर लम्वाईको भेरीनदी माथिको झोलुङ्गे पुल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको हो । साढे तीन वर्ष देखि अलपत्र परेको झोलुङ्गेपुलको जिम्मा गुर्भाकोट नगरपालिकाले पाएपछि फरार ठेकेदारलाई खोजेर अहिले निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । सस्पेन्सन ब्रिज डिभिजन अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि पुल अपलपत्र परेको थियो ।  ठेकेदार सम्पर्क विहिन भएको खबर गुर्भाकोट नगरपालिकाले थाहा पाएपछि मेयर हस्तबहादुर पुन तथा नपाका ईन्जिनियर मेघराज खत्रीको पहलमा पछिल्लो छ महिना यता झोलुङ्गेपुल निर्माणको कामले गति लिएको हो । काठमाडौंको बहादुर थिङ निर्माण सेवा प्रालिले २०७३ सालमा एक करोड ५ लाख ४२ हजार नौ सय रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौंताको एक वर्ष भित्रै पुल निर्माण बनाई सक्नु पर्ने नियम भएपनि म्याद थप गर्दासमेत विभिन्न कारण देखाउँदै काम छोडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो ।
जनप्रतिनिधिको खबरदारीले अबको एक साता भित्र झोलुङ्गेपुल सञ्चालनमा आउने निश्चित भएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ । गुर्भाकोट –९, का वडा अध्यक्ष शशीराम भट्टराईले विगत २० वर्षदेखि यस क्षेत्रका जनताले झोलुङ्गे पुल निर्माण गरिदिन माग गरेपनि अहिले आएर पुरा हुने पक्का भएको बताए । उनले झोलुङ्गेपुल बनेपछि गुर्भाकोटका ३, ९, १० र ११ नम्वर वडासँगै सिम्ता गाउँपालिका एवं सल्यान चौरका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जानकारी दिए । पुल बनेपछि यसक्षेत्रको कृषिजन्य उत्पादनले बजार पाउनुका साथै आवातजावतमा सहजता आउने उनको भनाइ छ । पुल नहुँदा आवातजावतसँगै कृषिजन्य व्यापार व्यवसायका लागि कठिनाई भईरहेको थियो । पुल नबन्दा कृषिजन्य वस्तुको व्यापार व्यवसायसँगै नदी तर्न स्थानीय बासिन्दालाई सास्ती खेप्दै आईरहेको स्थानीय दलबहादुर वलीले दुःखेसो पोखे । त्यस्तै पुल अभावमा कृषिजन्य वस्तुले समेत बजार पाउन नसकेको गुर्भाकोट नगरपालिका—९, का भीमबहादुर थापामगरले दुःखेसो पोखे । यता गुर्भाकोट नगरपालिकाका ईन्जियिर खत्रीले पूर्वाधार विकास कार्यालयले साविकको जिल्ला प्राविधिक कार्यालयबाट ती झोलुङ्गे पुलहरुको कागजात आफ्नो कार्यालयमा हस्तान्त्ररण गरेपछि निर्माण प्रक्रियालाई तीव्र पारिएको बताए । उनले जनताको मागलाई उच्च कदर गर्दे तदारुकताका साथ छिटो भन्दा छिटो पुल बनाउन आफुहरु अघोरात्र खटिरहेको जनाए । उनका अनुसार कुनै भव्यतव्य नभए अबको एक साता भित्र पुल सञ्चालनमा आउने छ ।
सडक यातायातको चुनौतिको रुपमा रहेको भेरी नदी माथिको आपसोती– घुगुती खोला जोड्ने झोलुङ्गेपुल बनाउन जनप्रतिनिधिले पहल गरे अनुसार नगरपालिकाले पुलसँगै सडक विस्तार गर्न लागेको मेयर पुनले बताए । उनले सहज यातायातको अभावमा यस क्षेत्रको विकासका लागि बाधकको रुपमा रहेको आपसोती– घुगुती खोला जोड्ने झोलुङ्गेपुल बनेपछि गुर्भाकोट मात्र नभई सिम्तागाउँपालिकासँगै सल्यान जिल्लाका बासिन्दालाई समेत सुविधा पुग्ने जनाए । ‘भेरी नदीमाथिको झोलुङ्गे पुल निर्माण भएपछि व्यापार व्यवसाय बढ्नुका साथै ओल्लो–पल्लो गाउँको नयाँ सम्बन्ध समेत जोडिने छ,’ उनले भने ।पुल निर्माणपछि करिब डेढ दर्जन गाउँका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । खासगरी पुल पर्यटकीय र व्यावसायिक दुवै दृष्टिले महत्वपूर्ण मानिएको छ । पूर्वी सुर्खेतको आपसोतीका बासिन्दालाई बोटेचौर, सिम्ता, सल्यानको चौरसँग प्रत्यक्ष सम्बन्ध कायम गर्न र मालसामान ओसारपसार गर्नका लागि पनि उक्त पुलको भूमिका महत्वपूर्ण छ । सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । ठेकेदारले एउटै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभित्र पूरा हुन सकेको थिएन । स्थानीय जनप्रतिनिधिलाई विकास निर्माणको जिम्मा दिईएपछि अहिले झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

 

Translate »