ठेकेदार भागेपछि झोलुङ्गेपुल अलपत्र

नदी तर्न सर्वसाधारणलाई सास्ती

स्काई न्यूज/मंसिर १, सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोतीमा भेरी नदी माथि बनाउन लागिएको झोलुङ्गे पुल निर्माण जिम्मा लिएको ठेकेदार भागेपछि पुल अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएको साढे तीन वर्ष पुग्नै लाग्दा समेत सम्बन्धित पक्षको ध्यान पुग्न नसक्दा स्थानीय सर्वसाधारण सास्ती खेप्दै आईरहेका छन् । पुल नबन्दा कृषिजन्य वस्तुको व्यापार व्यवसायसँगै नदी तर्न समेत स्थानीय बासिन्दालाईसास्ती हुने गरेको छ । सस्पेन्सन ब्रिज डिभिजन अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माण जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि पुल अपलपत्र हो । ठेकेदार सम्पर्क विहिन भएको खबर सम्बन्धित निकायमा गरेपनि तोकिएको समयमा पुल नहुँदा आवातजावतसँगै कृषिजन्य व्यापार व्यवसायका लागि कठिनाई भईरहेकाले तत्काल पुल बनाई दिन स्थानीय बासिन्दाले सरकारसँग माग गरेका छन् ।


काठमाडौंको बहादुर थिङ निर्माण सेवा प्रालिले २०७३ सालमा एक करोड ५ लाख ४२ हजार नौ सय रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौंताको एक वर्ष भित्रै पुल निर्माण बनाई सक्नु पर्ने नियम भएपनि म्याद थप गर्दासमेत विभिन्न कारण देखाउँदै काम छोडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल अभावमा कृषिजन्य वस्तुले समेत बजार पाउन नसकेको गुर्भाकोट नगरपालिका—९, का भीमबहादुर थापा मगरले दुःखेसो पोखे । यता पूर्वाधार विकास कार्यालयले साविकको जिल्ला प्राविधिक कार्यालयबाट ती झोलुङ्गे पुलहरुको कागजात आफ्नो कार्यालयमा हस्तान्त्ररण भएपनि बजेट जति स्थानीय तहमा गएकाले प्राविधिक सहयोगबाहेक अरु केही गर्न नसकिने जनाएको छ । बजेट जति स्थानीय तहमा गएकाले अब स्थानीय प्रतिनिधिले नै ठेकेदारलाई खबरदारी गर्नुपर्ने कार्यालयको भनाइ छ ।


सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । ठेकेदारले एउटै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभित्र पूरा हुन सकेका छैनन् । झोलुङ्गे पुल नहुँदा स्थानीय बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुका साथै कतिपयले त नदी तर्ने क्रममा ज्यानै गुमाएका छन् । यस तर्फ पुल निर्माण ठेकेदारसँगै सरकारको बढी ध्यान जान जरुरी देखिन्छ ।

Translate »