सिद्धपाइला क्याम्पसका पुरी नेपालकै दोस्रो

स्काई न्यूज/ कार्तिक ३०, सुर्खेत ।
वीरेन्द्रनगरस्थित सिद्धपाइला क्याम्पसका विद्यार्थी खगेन्द्र पुरी वीवीएस चौथो वर्षको परीक्षामा नेपालकै दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । त्रिभूवन विश्वविद्यालयद्धारा गत वर्ष सञ्चालित परीक्षामा पुरीले कूल ५०० पूर्णांकमा ४१८ अंक अर्थात ८३.६० प्रतिशत ल्याएका हुन् । क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले काठमाडौंस्थित नवोदित कलेजका विद्यार्थीले ४२६ अंक ल्याई नेपाल प्रथम र आफ्ना विद्यार्थी पुरी दोस्रो भएको जानकारी दिए ।

लब्धांकपत्र आइसकेपछि निवेदनसहित परीक्षा नियन्त्रण कार्यालयबाट पुरा दोस्रो भएको औपचारिक पुष्टि हुने बताइएको छ । सो परीक्षामा क्याम्पसबाट ५२ जना विद्यार्थीले परीक्षामा सम्मिलित थिए । तीमध्ये चार विशिष्ट श्रेणी, २६ प्रथम श्रेणी र अन्य २० जना द्वितीय श्रेणीमा उत्तीर्ण भएको क्याम्पसले बताएको छ । यस अघिल्लो वर्षको वीवीएस प्रथम वर्षको परीक्षामा पनि क्याम्पसकै विद्यार्थी भोजराज भण्डारी कर्णाली प्रदेश प्रथम भएका थिए । सिद्धपाइला व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउने कलेजमा पर्दछ । क्याम्पस प्रमुख सुवेदीले वर्षेनि शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

Translate »