मन्त्री बुढाद्वारा उद्योग कार्यालयको उद्घाटन

स्काई न्यूज /कार्तिक २८, सुर्खेत ।
कर्णाली प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढाले कर्णालीमा औद्योगिक क्रान्ति विना विकास सम्भव नरहेको बताएका छन् । बुधबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको उद्घाटन गर्दे मन्त्री बुढाले प्रदेश सरकार कर्णालीमा साना तथा मझौला उद्योगको संरक्षण सम्बद्र्धन गर्दै ठूला उद्योग स्थापनाका लागि नीजि तथा सरकारी स्थलबाट पहल भईरहेको जनाए ।

‘हामी सँग उपलब्ध स्रोतसाधनको अधिकतम् बहु उपयोग गर्दे वन तथा कृषिमा आधारित उद्योगलाई प्राथमिकतामा राखिनेछ,’ उनले भने, ‘स्थानीय स्रोत साधानमा आधारित उद्योगबाट उत्पादित वस्तु स्थानीय स्तरमा खपत गरि फाजुल निर्यात गरिने छ ।’ उनले आयातलाई निरुत्साहित गर्दे निर्यातजन्य वस्तुको उत्पादन तथा विक्री वितरणलाई सरकारले प्राथमिकता दिने बताए । मुलुकको नयाँ संरचना अनुसार सल्यानमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय स्थापनासँगै यहाँका उद्यमी एवं उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने आफुले अपेक्षा राखेको उनको भनाइ थियो ।


वन तथा वातावरण निर्देशनालयका निर्देश शिवराम अधिकारीले कार्यालयबाट उपलब्ध सेवा सुविधाको अधिकतम लाभ लिँदै उद्यमी तथा उपभोक्ता जिम्मेवार बन्न आवश्यक रहेको औल्याए । उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरि समाज तथा राष्ट्रको समृद्धिका लागि प्रत्येक नागरिक आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशक शम्भुप्रसाद पौडेलले समाज तथा राष्ट्रको उन्नती, प्रगतिका लागि प्रत्येक नागरिक उत्पादनशील कार्यमा संलग्न हुन आवश्यक रहेको जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाहीलगायतले भनाइ राखेका थिए ।

 

Translate »