महँगो हवाई भाडाले कर्णालीमा पर्यटक घट्दै

पर्यटक आगमन न्यून

स्काई न्यूज /कार्तिक २५, सुर्खेत ।
कर्णालीमा पछिल्लो समय पर्यटक आउने संख्या घट्दो क्रममा रहेको छ । महँगो हवाई भाडा, प्रतिकुल मौसम, यातायातसँगै भौतिकपूर्वाधार तथा प्रचारप्रसार अभावले पर्यटन आगमन घटेको हो । पर्यटकीय स्थलको संरक्षण तथा सम्वद्र्धन, स्तरोन्नति, प्रवद्र्धनात्मक गतिविधिको अभाव, पर्यटन सडक तथा पदमार्ग निर्माण कार्य कार्यान्वयनकै चरणमा रहेकाले पनि पर्यटकको संख्या घट्दै गईरहेको छ । कर्णालीमा रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका आकर्षक स्थलहरु भएपनि पर्यटकको संख्या बढ्न सकेको छैन । अर्कोतर्फ कर्णालीको हवाई सेवा महँगो भएकै कारणले पनि पर्यटक बढ्न नसकेको सरोकारवाला बताउँछन् ।

 

आन्तरिक वायुसेवा कम्पनीहरुले विदेशी पर्यटकलाई महँगो हवाई भाडा लिने गरेकै कारणले कर्णालीमा विदेशी पर्यटक आउन नसकेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । ‘महँगो हवाई भाडा भएकै कारण काठमाडौं ओर्लिने पर्यटक कर्णालीमा आउँदैनन्,’ उनले भने, ‘डलर फेयर र पूर्वाधार अभावले कर्णालीको पर्यटन विकासमा बाधक बनेका छन् ।’ उनले प्रदेश तथा केन्द्र सरकारले कर्णालीको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारमा जोड दिनु पर्ने औल्याए । कर्णालीमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुँदा हवाई सेवा समेत अपर्याप्त रहने गरेको उनको भनाइ छ । एक तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटक आएका थिए ।

यीमध्ये १३ हजार ४ सय मात्रै कर्णालीको हुम्ला, रारा, शेफोक्सुन्डो, डोल्पा पुगेका थिए । यो कुल पर्यटक आगमनको १ प्रतिशत हाराहारी मात्रै हो । नेपालमा विदेशी पर्यटकले आन्तरिक उडानका लागि झण्डै चार गुणा बढी हवाई भाडा तिर्नुपर्ने बाध्यता रहेको सरोकारवाला बताउँछन् । विदेशी भएकै कारण वायु सेवा कम्पनीहरुले आन्तरिक रुटमा लिने हवाई भाडा नै कर्णालीमा पर्यटक जाने मुख्य बाधक भएको कर्णाली प्रदेशको भ्रमण वर्ष २०२० का प्रदेश संयोजक राजु कार्कीले बताए । उनले भने, ‘पहिलो कारण महँगो हवाई भाडा दोस्रो कारण पूर्वाधार अभाव देखिन्छ ।’ उनले कर्णालीमा पर्यटन विस्तारमा एयर फेयर समस्या भएको जनाए । उनका अनुसार सन् २०१८ मा कर्णालीमा पुगेका १३ हजार पर्यटकमध्ये १० हजार भारतीय नागरिक मात्रै रहेका थिए ।

भारतीय पर्यटक समेत घट्दै

गत वर्षदेखि हुम्ला हुँदै चीनको मानसरोवर जाने भारतीय पर्यटकको संख्या समेत घटेको छ । त्यस अघिल्लो वर्ष आठ हजार भन्दा बढी भारतीय पर्यटक हुम्ला हुँदै मानसरोवरको यात्रामा गएका थिए । गएको सिजनमा आएका भारतीय पर्यटकमध्ये दुई हजार नौ सय ९७ जना पुरुष र दुई हजार ५ सय ४० जना महिला रहेका छन् । त्यस अघिल्लो वर्षको तुलनामा गत आवमा सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुको सख्या घटेको छ । रसुवाको केरुङ नाका छोटो र काठामाडौंबाट हेलिकोप्टरबाट सिधै केरुङमा उडान हुन थालेपछि केही पर्यटकहरु केरुङ हुँदै जाने गरेका छन् । सन् २०१७ बाट हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकहरुको शुरुवात भएको हो । यो सँगै संख्यामा उल्लेख्य रुपमा वृद्धि भएपछि हौसिएर होटेलमा लगानी गर्न पुगेका हुम्लाका व्यवसायीहरु अहिले पर्यटकहरुको आगमन घट्न थालेपछि चिन्तित बनेका छन् । सिमकोट र हिल्सामा पर्यटकहरुलाई लक्षित गरी तीन दर्जन होटेलहरु संञ्चालनमा रहेका छन् ।

प्रदेश सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा ग¥यो । सरकारले कति पर्यटक कर्णाली आए भन्ने यकिन लेखाजोखै राख्नै सकेन । रारामा त अभियान शुरु भएको वर्षमा करिब १२ हजार पर्यटक मात्र पुगे । कर्णाली प्रदेश पर्यटन विकास समितिका संयोजक राजु कार्की सरकारले पर्यटक भित्र्याउनका लागि ठोस योजना कार्यान्वयन नगर्दा सफलता नमिलेको बताउँछन । पर्यटन वर्ष घोषणा भएकै वर्षमा समेत पर्यटक कम आउनु असफलता रहेको कर्णाली प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० आउन करिब डेढ महिना मात्र बाँकी रहँदा कर्णाली प्रदेशमा भने पर्यटन गतिविधि सुस्त देखिएको छ ।

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको तयारी स्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ जेठ मसान्तमा सात वटै प्रदेशमा १६ सदस्यीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको थियो । समितिलाई नेपाल भ्रमण बर्षलाई लक्षित गरि प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कामहरु गर्न अख्तियारी दिएको छ । समितिमा प्रदेशका मुख्य मन्त्री संरक्षक र सम्बन्धित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष, सोही मन्त्रालयका सचिव सदस्य सचिव तथा पर्यटन सम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्य रहने व्यवस्था छ । तर, ती गठन भएका समितिको निष्क्रियताले भ्रमण वर्षको तयारी समेत सुस्त देखियो । गत जेठ महिनामा गठन भएको समितिको बैठक हालसम्म दुई पटक मात्र बसेको बुझिएको छ । तयारीको जिम्मा पाएको समितिको बैठक नै नियमित बस्न नसक्दा भ्रमण वर्षको तयारी समेत सुस्ताएको हो । प्रदेश पर्यटन प्रर्बद्धन समिति संयोजक कार्कीले नेपाल सरकाले कार्यविधि नल्याउँदा अलमल परेको बताए । उनले कार्यविधि नहुँदा विनियोजित बजेट खर्च गर्न समेत समस्या भएको जनाए ।

Translate »