कर्णाली प्रदेश सदरमुकाममा सार्वजनिक शौचालय अभाव

अपांगता तथा महिला बढी समस्यामा

लक्ष्मी वि.क / कार्तिक २४, सुर्खेत ।
कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्रका यात्रीले शौच रोकेर बस्न बाध्य छन् । यसको सबैभन्दा बढी मार अपांगता भएका व्यक्ति तथा महिलाले बढी समस्या भोग्नुपरेको छ । नगरपालिकाका प्रशासन तथा योजना शाखा प्रमखु प्रकाश पौडेलका अनुसार वीनपा भरी कुल ५ वटा मात्र सार्वजनिक शौचालय छन् । उनले तीमध्ये महिला बालबालिका तथा अपांगमैत्रि सार्वजनिक शौचालय भने एउटा मात्र बुलबुले पार्क भित्र रहेको बताए । वीनपाले गढीमा–१, बाङ्गेसीमलमा–१, हटियामा–१, घण्टाघरमा–१, बसपार्क–१ तथा पीपल चौतरामा निर्माणधिन अवस्थामा रहेको छ । सबै भन्दा बढी भीडभाड रहने तल्लो बजार, वीरेन्द्रचोक, बुद्धपथ, आँखा अस्पताल चोक, सुर्खेत–दैलेख जीरोप्वाइन्ट चोक, एयरपोट चोक, पिपिरा चोक, एरीचोकलगायतका स्थानमा सार्वजनिक शौचालय छैनन् । एरीचोक स्थित फुटपाथमा पानीपुरी बेच्दै आएका सक्कलदेव न्यौपानेले सार्वजनिक शौचालय नहुँदा शौच लाग्दा खाली जमिन वा होटलमा जान बाध्य भएको दुखेसो सुनाउँछन् । मंगलगढीचोक क्षेत्रमा १६ वर्षदेखि फलफुल बेच्दै आएका असर्फी मियाले प्रदेश राजधानीका सार्वजनिक शौचालय व्यवस्थित र सफा नभएको बताउँछन् । ‘बनाईएका सार्वजनिक शौचालय समेत रामभरोसे छोडिएका कारण गन्दगी तथा फोहोर डम्पिङ गर्ने साइटमा परिणत भइसकेका छन,’ उनले भने ।


बसपार्कमा केही महिनादेखि फलफूल बेच्दै आएकी दिलमाया खत्रीले वीरेन्द्रनगरका केही शौचालय सुरक्षित नभएको बताउँछिन् । ‘सार्वजनिक शौचालयमा न बत्ती छ, न त ढोकाको चुक्कल लाग्छ,’ उनले भनिन् । वीरेन्द्रनगरका शौचालय महिलामैत्रि पनि नभएको उनको भनाइ छ । जसका कारण महिनावारी हुँदा प्याड राख्न समस्या हुने गरेको उनले बताइन् । त्यसो त भएका कतिपय सार्वजनिक शौचालय प्रयोगविहीन छन् । पानी अभाव, ढोकाको चुक्कुल बिग्रनुलगायत कारणले सार्वजनिक शौचालय प्रयोगविहीन भएको सर्वसाधारण बताउँछन् ।

सार्वजनिक शौचालयको विकल्पमा घुम्ती शौचालय राखिए पनि त्यति प्रभावकारी देखिएको छैन । वीरेन्द्रनगरमा भएका सार्वजनिक शौचालय गन्हाएर निस्सासिने अवस्थामा अस्तव्यस्त छन् । फुटपाथ व्यापारी रेशमबहादुर शाहीले सार्वजनिक शौचालय सुविधा दिनभन्दा पनि पैसा असुल्नका लागि संचालन गरिएको आरोप लगाउँछन् । ‘बजार क्षेत्रका शौचालयमा पैसा संकलन गर्ने मानिस राखिएको छ । तर, न यहाँ सरसफाइ छ न त पानीको व्यवस्थापन नै छ ।’ राजधानीमा सार्वजनिक शौचालयमा पिसाव गरेको ५ र दिसा गरेको १० रुपैयाँ तिर्नुपर्छ ।

शौचालयको व्यवस्थापनमा नगरलगायत अन्य सरोकारवालाले चासो नदिएको सर्वसाधारणको गुनासो छ । नगरपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख पौडेलका अनुसार चालु आर्थिक वर्षत्रि थप ५ वटा सार्वजनिक शौचालय बनाउने योजना रहेको बताउँछन् । तर, शौचालय भने कुन ठाउँमा कति निर्माण गर्ने अझै टुङ्गो लाग्न सकेको छैन् ।

Translate »