सीमा अतिक्रमण विरुद्ध नेमकिपाको सुर्खेतमा प्रर्दशन

स्काई न्यूज/सुर्खेत, २४ कार्तिक ।
नेपाल मजदुर किसान पार्टी, सुर्खेतले भारतद्वारा नेपाली भूमि अतिक्रमणको विरोधमा प्रर्दशन गरेको छ । नेमकिपाले कालापानी हाम्रै हो, सुस्ता हाम्रै हो, लिम्पियाधुरा हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लगाउँदै आइतबार वीरेन्द्रनगरमा प्रर्दशन गरेको हो । लिम्पियाधुरा, कालापानी तथा लिपुलेक भारतले एकतर्फिरुपमा आफ्नो नक्साभित्र राखेको विरोधमा जुलुस तथा सभाको आयोजना गरिएको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले बताए ।
‘लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरी भारतलाई जवाफ दिनु पर्छ,’ उनले भने, ‘नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कदमविरुद्ध नेपाल सरकार तुरुन्त अन्तर्राष्ट्रिय अदालतमा गएर सीमा अविलम्व नेपाली सेना तथा सशस्त्र प्रहरी बललाई खटाएर सीमा बन्द गर्नु पर्छ ।’ उनले शासक वर्गकै नालायकीको कारण नेपालको संविधान २०७२ को अनुसूचिको निसान छापमा कालापानी क्षेत्र गायव गरिएकाले षड्यन्त्र गर्ने षडयन्त्रकारीलाई सार्वजनिक गरिनु पर्ने बताए । महाकाली नदीको मुहान किटान नगरी २०५३ सालमा महाकाली सन्धिमा हस्ताक्षर गर्ने सबै पार्टी देशघाती भएको उनको भनाई थियो ।

सभामा नेमकिपा, दैलेखका सदस्य निरकबहादुर शाहीले सुगौली सन्धिअनुसार कालापानी तथा लिम्पियाधुरा नेपालको हो भन्दै व्रिटिस भारतले समेत तयार पारेको नक्साअनुसार तत्काल नेपाली भूमि छोडन् माग राखे । त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य सर्जु फसिकवले भारतले सीमा अतिक्रमण गरी नेपाली स्वाभिमानमाथि धावा बोलेको जिकिर गरे । कार्यक्रममा नेमकिपा सुर्खेतका जिल्ला सदस्य प्रेम थापामगर, विजुकला राना, गोविन्द योगीलगायतले आफ्ना भनाई राखेका थिए ।