वीरेन्द्रनगरका सबै माविमा योग प्रशिक्षण दिइने

कर्णालीका १० जिल्लाका ५० युवायुवती प्रशिक्षित

स्काई न्यूज /कार्तिक २३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्ना सबै विद्यालयमा योग प्रशिक्षण दिने भएको छ । स्वस्थ्य जनशक्ति निर्माणका लागि विद्यालय तहबाटै योग शिक्षाबारे प्रचार–प्रसार गर्न नगरपालिकाले आफ्नै खर्चमा विद्यार्थी तथा शिक्षकलाई प्रशिक्षण दिन लागेको हो । विद्यालयमा योग शिक्षा प्रभावकारी बनाउन विद्यार्थी, शिक्षक, विज्ञ तथा प्रशिक्षकसँग सरसल्लाह गरेर कार्यक्रम अगाडि बढाईने वीनपा नगर प्रमुख देवकुमार सुवेदीले बताए ।

पतंजली योग युवा समिति कर्णाली प्रदेशको समन्वय तथा प्रदेश आयुर्वेद औषधालयले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक आरोग्य कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख सुवेदीले भने, ‘विद्यालयमा सीप तथा ज्ञान विस्तारका लागि योगको व्यावहारिक कार्यान्वयन आवश्यक छ ।’ उनले स्वस्थ शरीर तथा सकारात्मक विचारका लागि योगासनका माध्यमबाट स्वास्थ्यप्रति जागरुकता ल्याउनु पर्नेमा जोड दिए ।

प्रदेश आयुर्वेद औषधालयका डाक्टर शंकरप्रसाद रिजालले पछिल्लो समय स्वास्थ्यप्रति जागरुकता बढेसँगै सर्वसाधारणको योगप्रति विशेष आकर्षण बढेको बताए । उनले योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै अध्यात्मिक भावना जागृत हुन थालेपछि सर्वसाधारण योग शिविर पुग्न थालेको जनाए । ‘असन्तुलित खानपान तथा अस्वथ्य जीवनशैली लगायतका कारणले सर्वसाधारणमा शारीरिक स्वास्थ्य जागरुकता बढेको छ,’ उननले भने, ‘ आध्यात्मिक भावना, तनाव व्यवस्थापन तथा ध्यान केन्द्रित गर्न योग  अत्यन्त सरल एवं सहज माध्यम हो ।’

उनले बद्लिँदो जीवनशैलीका कारण विभिन्न किसिमका तनाव व्यवस्थापन एवं कामको शिलशिलामा व्यवस्त जीवन बिताउनेहरुका लागि योग तथा ध्यान निकै लाभदायक रहेको बताए । उनका अनुसार सर्वसाधारणको मागलाई ध्यानमा राख्दै पतंजली योग युवा समिति कर्णाली प्रदेशको समन्वय तथा प्रदेश आयुर्वेद औषधालयको आयोजनामा ५ दिने योगा प्रशिक्षण तथा नेतृत्व विकास शिविरको आयोजना गरिएको हो । पाँच दिने आवासीय प्रशिक्षणमा कर्णाली प्रदेशका दशै ओटै जिल्लाबाट ५/५ जनाका दरले ५० जना युवायुवतीको सहभागिता रहेको थियो ।

प्रशिक्षणलाई पतंजली योग समिति सुर्खेत तथा कर्णाली प्रदेश समिति, पतंजली योग पीठ हरिद्वारका साध्वी देवविजया, प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकाल, पतंजली योग समिति कर्णाली प्रदेश महामन्त्री ईन्जिनियर जनकबहादुर शाही, सुर्खेतका अध्यक्ष शिवप्रसाद गौतम, महिला पतंजली योग समिति सुर्खेतका महिला प्रभारी गीता वली, युवा नेपाल समितिका केन्द्रीय संयोजक ललित शंकर योगी, सहसंयोजक लोकनाथ खनाल, कर्णाली प्रदेश संयोजक अशोककुमार आलेलगायतले योगका बारेमा आफ्ना धारणाहरु राखेका थिए ।

 

Translate »